Logo २६ जेष्ठ २०८३, मंगलबार | Tue Jun 9 2026


पुरस्कार र दण्डको नीतिलाई कडाईकासाथ लागु गर्नुहोस् : महानिरीक्षक पौडेल


260
Shares

काठमाडाैं । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले सशस्त्र प्रहरी कर्मचारीहरुमा पुरस्कार र दण्डको नीतिलाई कडाईकासाथ लागु गर्दै राष्ट्र, संगठन र आमजनताको अपेक्षा अनुसार कार्यक्षेत्रमा खटिदा कुनैपनि कमिकमजोरी नगरी थप व्यावसायिकता र उर्जाकासाथ कार्य गर्न निर्देशन दिनुभएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा जेठ २६ गते महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बल नेपालका विभिन्न युनिटको कमाण्डमा खटि जान लाग्नुभएका अधिकृतहरुलाई प्रत्यक्ष र भर्चुअल माध्यमबाट सो निर्देशन दिनुभएको हो । उहाँले आफु मातहत कर्मचारीहरुको मनोवल उच्च राखी, समयमै समस्या र आवश्यकतालाई पहिचान गर्दै तल्लो तहसम्म प्रत्यक्ष सम्पर्कमा रहेर कार्य गर्नुपर्ने बताउनुहुँदै मातहत कर्मचारीहरुको पीर, मर्का र गुनासोहरुलाई चेन अफ कमाण्डमा ल्याउन निर्देशन दिनुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले फिल्डमा खटिने सशस्त्र प्रहरी कर्मचारीहरुले नतिजामुखी कार्य गर्न सकियो भने राष्ट्र र संगठनको नाम उच्च रहने मात्र नभई कमाण्डर र तल्लो तहसँगको सामिप्यता बढ्ने कुरामा जोड दिनुहुँदै हामीले गर्ने प्रत्येक राम्रा तथा पारदर्शी कामकारवाहीहरु जनस्तरमा समेत पुग्नुपर्ने बताउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले कार्यक्षेत्रमा खटिने सशस्त्र प्रहरी कर्मचारीहरु सस्तो लोकप्रियता र मिडियाबाजीमा ध्यान नदिई नयाँ जोस र उर्जाकासाथ आफ्नो जिम्मेवारी र कर्तव्यलाई निर्धक्ककासाथ पुरा गर्नेतर्फ अग्रसर तथा सामाजिक संजाल प्रयोगलाई व्यवस्थित गर्न सबै तहका कमाण्डरहरु समेत चनाखो भएर लाग्नुपर्ने बताउनुभयो ।

उहाँले राजश्व चुहावट नियन्त्रण तथा सीमा क्षेत्रमा हुने अवैध चोरीतस्करी विरुद्ध कडा रुपमा प्रस्तुत भई नेपाल सरकारबाट प्रतिबन्धित वस्तुहरु सीमाबाट भित्रन नदिन सशस्त्र प्रहरी कर्मचारीहरु थप सक्रियकातासाथ लाग्नुपर्ने बताउनुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरुले मातहतका युनिटहरुसँग समन्वय र सहकार्य गरी हरेक कामकारवाहीको जानकारी लिई थप मजबुद बनाउनुकासाथै सीमामा परिचालित सशस्त्र प्रहरी कर्मचारीहरुले सरोकारवाला र समकक्षी सँगको समन्वय र सहकार्यलाई अझ बढि प्रभावकारी बनाउँदै अघि बढ्न समेत निर्देशन दिनुभयो ।

आर्थिक पारदर्शीता, लैङ्गिक हिंसा, मानवअधिकारका विषयमा शून्य सहनसिलताको नीति संगठनले लिएको हुँदा सोही अनुसार कार्य गर्न उहांँले निर्देशन दिनुभयो । हालैमात्र सल्यान र जाजरकोटमा गल्ती गर्ने कमान्डरलाई कारबाही गरिएको स्मरण गराउनुहुंदै उहाँले बिओपी नेचुङका कमाण्डर माथि पनि छानबिन भइरहेको र नेपाल एपीएफ स्कुल कीर्तिपुरको विषयमा समेत हिजो जेठ २५ गते छानबिन समिती गठन गरेर सत्यतथ्य बुझ्ने प्रक्रियामा रहेको बताउनुभयो । सोही अवसरमा बिभागिय प्रमुखहरूले समेत आवश्यक निर्देशन दिनुभएको थियो ।