Logo २१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026


धवलशमशेरसहित एकैपटक १८३ जनाले छाडे राप्रपा, को–को छन् ?


858
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणासहित १८३ जनाले पार्टी परित्याग गरेका छन् ।

उपत्यकामा उपलब्ध पार्टीका केही पदाधिकारी, नेता, केन्द्रीय सदस्य, जनवर्गीय संगठनका पदाधिकारी, सदस्य एवं कार्यकर्ताहरूले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

मूल नेतृत्वको कमजोरी एवं आत्मकेन्द्रित शैलीका कारण सम्भावनाहरू क्षीण हुँदै गएको राणा पक्षको आरोप छ । पार्टीको वैचारिक आधार र मान्यता लत्याउँदै, एकता महाधिवेशनको म्यान्डेट नजरअन्दाज गर्दै, केन्द्रीय कार्यसमितिलाई समेत जानकारी नदिई पार्टीको मूल नेतृत्व ‘संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण’ गर्ने प्रचण्ड सरकारको न्यूनतम साझा कार्यक्रमको साझेदार बनेको उनीहरूले आरोप लगाएका छन् ।

उक्त पक्षले परित्याग गरेको पत्र सार्वजनिक गर्दै भनेको छ, “संवैधानिक राजसंस्था पूनस्र्थापना गर्ने लक्ष्य लिएको पार्टीको मूल नेतृत्व गणतन्त्र सुदृढीकरण गर्न किन अग्रसर भयो ? पार्टीको मूल लाइन र महाधिवेशनको निर्णय विपरीत जानुपर्ने के बाध्यता थियो ?”

केन्द्रीय कार्यसमिति, केन्द्रीय कार्यसम्पादन समितिलगायत वैधानिक थलोमा पटकपटक प्रश्न उठ्दा सम्बन्धित पक्षबाट स्पष्टीकरण कहिले उपलब्ध नभएको पनि राणा पक्षको भनाइ छ । जेठभित्र महाधिवेशन सम्पन्न गर्ने केन्द्रीय कार्यसमितिको वैधानिक निर्णय उल्लंघन गरेको, राजसंस्था पुनर्स्थापनाका आन्दोलनहरू पटकपटक तुहाउन मूल अगुवा नै अग्रसर भएको उनीहरूको आरोप छ ।