Logo २० जेष्ठ २०८३, बुधबार | Wed Jun 3 2026


एमाले अध्यक्ष ओली गत फागुनकाे निर्वाचनपछि आज पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदै


0
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गत फागुन २१ गते सम्पन्न भएकाे प्रतिनिधिसभा निर्वाचनपछि बुधबार पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुनुहुने भएकाे छ ।

अध्यक्ष ओली पार्टीकाे केन्द्रीय संगठन विभागले आयोजना गरेको दुई दिने राष्ट्रिय कार्यशालामा बुधबार सहभागी हुन लाग्नुभएकाे हाे । ​काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजना हुने उक्त कार्यशालाकाे अध्यक्ष ओलीले उदघाटन गर्नुहुने भएकाे छ । ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयको दुई दिने राष्ट्रिय कार्यशालाको उदघाटन बुधबार बिहान ११ बजे पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओलीले गर्ने तय भएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभयाे ।

​पार्टीको सांगठनिक सुदृढीकरण र गतिशीलताका लागि कार्यशाला आयोजना गर्न लागिएको उहाँकाे भनाइ छ । कार्यशालामा सम्पूर्ण प्रदेश तथा जिल्ला इन्चार्जहरू सहभागी हुनेछन् । पार्टीका प्रदेश कमिटी वा सो सरहका कमिटीका पदाधिकारी र कार्यालय सचिवहरू, जिल्ला कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखहरू, जनसंगठन केन्द्रीय कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखहरूको उपस्थिति रहने प्रचार विभाग प्रमुख आचार्यले बताउनुभयाे।

​कार्यशालामा पार्टीको सदस्यता विस्तार, नवीकरण प्रक्रिया र सांगठनिक सुदृढीकरणका भावी योजनाकाे बारेमा छलफल अभिमुखीकरण हुने एमालेले जनाएकाे छ ।