Logo १७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026


हजारौँ एआई प्रोसेसिङ युनिट खरिद गर्ने सरकारको योजना छः अर्थमन्त्री वाग्ले


0
Shares

काठमाडाैं ।  अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले काठमाडौंमा ‘सार्वभौम एआई कम्प्युट फ्याक्ट्री’ स्थापना गर्ने तयारी गरेको बताएका छन् ।

उनकाअनुसार यस परियोजनामार्फत हजारौँ एआई प्रोसेसिङ युनिट खरिद गरी नेपाली युवा उद्यमी तथा प्रविधि क्षेत्रलाई अत्याधुनिक कम्प्युटिङ क्षमता उपलब्ध गराउने योजना छ । बजेटपछि अर्थमन्त्रालयमा पत्रकार सम्मेलनमा बोल्दै उनले एआई क्षेत्रमा नेपालले ठूलो छलाङ मार्ने आधार तयार भइरहेको दाबी गरे ।

उहाँकाअनुसार सरकारले विश्वका विभिन्न विश्वविद्यालय र अनुसन्धान संस्थानमा कार्यरत नेपाली मूलका अग्रणी एआई शोधकर्ता तथा प्राध्यापकहरूलाई नेपाल ल्याएर फेलोसिपमार्फत अनुसन्धान र नवप्रवर्तनमा संलग्न गराउने योजना पनि अघि बढाएको छ । वाग्लेले एआई क्षेत्रमा कार्यरत नेपाली मूलका विज्ञ तथा न्युयोर्कको नास्डाकमा सूचीकृत कम्पनीलगायतको योगदानले परियोजनालाई गति दिएको बताए ।

उनले नेपालका डिजिटल तथा फिनटेक समुदायमा एआई पूर्वाधार निर्माणप्रति उत्साह देखिएको उल्लेख गर्दै सरकारले यस क्षेत्रमा उदारतापूर्वक लगानी गर्ने नीति लिएको बताए। दीर्घकालीन रूपमा निजी क्षेत्रबाट ठूलो लगानी आकर्षित गर्ने लक्ष्य रहेको उनको भनाइ छ । नेपालमा उपलब्ध स्वच्छ ऊर्जालाई एआई कम्प्युटिङसँग जोड्न सके विद्युत् निर्यातभन्दा पनि उच्च मूल्य सिर्जना गर्न सकिने उनले बताए ।

अर्थमन्त्री वाग्लेले भने–‘यो एआईमा ठ्याक्कै के हो भन्दा जिल्ला तोकेर, मैले भन्दिएको छु, सोभरेन एआई कम्प्युट फ्याक्ट्री बन्दै छ । हामी सुरुमै हजारौँ प्रोसेसिङ युनिटहरू, एआई प्रोसेसिङ युनिटहरू खरिद गर्दै छौँ । त्यसले दसौँ हजार युवा उद्यमीहरूलाई कम्प्युट पावर, एआईको कम्प्युट पावरसँग पहुँच दिँदै छ र यसमा हामीले छलाङ नै मार्दैछौँ । यसमा पनि पत्रकारहरू ३ प्रतिशतमा भुलेर होला या हुनाले त्यति यथेष्ट यता कभर गर्न पाउनुभएको छैन ।’

भारतमा तारमार्फत विद्युत निर्यात गर्ने वा बङ्गलादेशलाई बिजुली बेच्नेभन्दा स्वच्छ ऊर्जालाई एआई कम्प्युटिङसँग जोड्न सकियो भने नेपालले धेरै ठूलो आर्थिक छलाङ मार्न सक्ने उनको भनाइ छ । उनकाअनुसार आगामी बजेटमा यस्ता धेरै रूपान्तरणकारी कार्यक्रम समावेश गरिएका छन्, जसले डिजिटल अर्थतन्त्र र प्रविधि क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने अपेक्षा छ ।