काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा लागू गरिएको गोलाप्रथा पेशी प्रणाली हटाउने तयारीप्रति गम्भीर आपत्ति जनाएका छन् ।
काठमाडौंमा आयोजित ‘मानसिक सु–स्वास्थ्य र तनाव व्यवस्थापन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले गोलाप्रथामार्फत पेशी तोक्ने व्यवस्था हटाएर प्रधानन्यायाधीश स्वयंले पेशी तोक्ने प्रणाली लागू गरिए न्यायपालिका राजनीतिक प्रभावतर्फ धकेलिने चेतावनी दिए ।
उनले गोलाप्रथा प्रणाली हटाउने निर्णय भए नेपाल बार एशोसिएशनले सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिए । प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामाथि प्रश्न उठाउँदै उनले संवैधानिक परिषद्मार्फत प्रधानमन्त्रीलाई मन पर्ने व्यक्तिलाई नियुक्त गर्ने अभ्यास सुरु भएको टिप्पणी गरे ।
अध्यक्ष मिश्रले अहिले प्रधानन्यायाधीश बन्न त्याग र तपस्याभन्दा पनि राजनीतिक पहुँच महत्त्वपूर्ण बन्दै गएको संकेत देखिएको बताए । यस्तो प्रवृत्तिलाई स्वीकार गर्ने वा सुधार गर्ने भन्ने विषयमा गम्भीर बहस आवश्यक रहेको उनको भनाइ थियो ।
उनले सरकारको आलोचना गर्ने व्यक्तिलाई ‘झोले’को आरोप लगाएर हजारौँ मानिस परिचालन गर्ने प्रवृत्ति बढेको आरोपसमेत लगाए। यस्तो अवस्थामा पनि कानून व्यवसायीहरूले विवेक गुमाउन नहुने र न्यायालय तथा न्यायाधीशलाई बलियो बनाउने दायित्व वकिलहरूमाथि रहेको उनले बताएका छन् ।
अध्यक्ष मिश्रका अनुसार न्यायपालिका अहिले गम्भीर परिस्थितिबाट गुज्रिरहेको छ । यस्तो संवेदनशील समयमा कानून व्यवसायीहरूले न्यायालयप्रति जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उनको जोड थियो ।










प्रतिक्रिया दिनुहोस्