एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडीका देशहरूको आग्रहमा इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरेको दावी गर्नुभएको छ ।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत यस्ताे दावी गर्नुभएकाे हाे । राष्ट्रपति ट्रम्पले कतार, साउदी अरब र यूएईका नेताहरूको आग्रहमा आफूले सैन्य कदम रोकेको बताउनुभएकाे छ। अहिले गम्भीर रूपमा वार्ताको पहल भइरहेको जानकारी दिनुभएको बीबीसीले जनाएको हाे । उहाँले इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरेको उल्लेख गर्नुभएको छ ।
यसैबीच इरानका एक वरिष्ठ सैन्य कमान्डरले अमेरिकालाई फेरि रणनीतिक गल्ति र गलत काम नगर्न चेतावनी दिनुभएको छ । गत फेब्रुअरी २८ तारिखमा इजरायली र अमेरिकी सेनाले इरानमाथि हवाई आक्रमण शुरु गरेका थिए । जवाफमा इरानले खाडी क्षेत्रका देशहरूमा रहेका इजरायली र अमेरिकी सैन्य लक्ष्यमा ड्रोन र मिसाइल प्रहार गरेको थियो ।
पाकिस्तानी मध्यस्थकर्ताहरूमार्फत अमेरिकासँग कुराकानी भइरहेको पनि इरानले जनाएको छ । यस अघि मात्रै राष्ट्रपति ट्रम्पले इरानका लागि समय घर्किँदै गएको र उनीहरू छिटै अघि नबढेमा केही पनि बाँकी नरहने चेतावनी दिनुभएको थियो ।










प्रतिक्रिया दिनुहोस्