Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


खोटाङमा जेष्ठ पत्रकारलाई पेन्सन दिइने


0
Shares

सविना अछामे,खोटाङ । नेपाल पत्रकार महासंघ खोटाङले जेष्ठ पत्रकारलाई पेन्सनको व्यवस्था गर्ने भएको छ । २५ वर्ष पत्रकारिता गरी ६५ वर्ष पूरा भएकालाई पेन्सनको व्यवस्था गर्ने भएको हो ।

यसका लागि वरिष्ठ पत्रकार कृष्ण आचार्यको संयोजकत्वमा नेपाल पत्रकार महासंघ खोटाङ शाखाका पूर्व अध्यक्षहरू डम्बरसिं राई, दिलीप खत्री र दमन राई तथा भीम राई सम्मिलित मस्यौदा समितिले जेष्ठ नागरिक पेन्सन कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि तयार गरी शनिबार नेपाल पत्रकार महासंघ खोटाङ शाखालाई बुझाएको छ ।

उक्त मस्यौदामा कम्तिमा १० लाखको अक्षयकोषबाट मुलधन नमासिने गरी त्यसको ब्याजवापत आउने रकमबाट प्रतिव्यक्ति मासिक ३ हजार रूपैयाँका दरले पेन्सनको व्यवस्था गर्ने उल्लेख गरिएको छ । जिल्लामै रहेर काम गरेका पत्रकारलाई मात्र पेन्सन दिइने मस्यौदामा उल्लेख छ । कुनै राजनीतिक दल वा पेशागत संस्थाको कार्यकारी पदमा बहाल रहेको व्यक्ति, सूचना तथा प्रसारण विभाग वा प्रेस काउन्सिल नेपालको कालो सूचीमा परेको व्यक्ति, नैतिक पतन ठहरिने गरी फौजदारी अपराधमा दोषी ठहर भएकाले पनि उक्त पेन्सन नपाउने मस्यौदामा उल्लेख गरिएको छ ।

आगामी जेठ ९ गते हुने शाखाको साधारणसभाले उक्त मस्यौदालाई पारित गरी कायान्वयन गर्ने नेपाल पत्रकार महासंघ खोटाङ शाखाका अध्यक्ष हरिबोल आचार्यले बताएका छन् ।