काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तर मापदण्ड पूरा नगरेको भन्दै यशोधा फुड्स प्रालिद्वारा उत्पादित दुई प्रकारका चाउचाउ तथा एक बिस्कुट ब्रान्डलाई तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ ।
विभागले १०० ग्राम प्याकेटको ‘करेन्ट नुडल्स’ र ५० ग्रामको ‘लाली चाउचाउ’ मा सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्डअनुसार एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु नमिलेको पाइएको जनाएको छ । परीक्षणका क्रममा गुणस्तर मापदण्ड विपरीत देखिएपछि ती उत्पादन बजारबाट फिर्ता गर्न आदेश जारी गरिएको विभागले जनाएको हो ।
त्यस्तै एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालि द्वारा उत्पादित ‘ज्याकन्याक क्रेकर्स बिस्कुट’ पनि गुणस्तरहीन पाइएपछि विभागले बिक्री वितरण रोक्न र बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ ।
विभागका अनुसार नियमित बजार अनुगमन तथा प्रयोगशाला परीक्षणका क्रममा ती खाद्य पदार्थमा गुणस्तरसम्बन्धी समस्या फेला परेको हो । उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्न सक्ने भएकाले तत्काल उत्पादन फिर्ता गर्न र आवश्यक सुधार गर्न सम्बन्धित उद्योगलाई निर्देशन दिइएको बताइएको छ।
विभागले उपभोक्तालाई समेत यस्ता उत्पादन खरिद गर्दा लेबल, उत्पादन मिति, गुणस्तर चिन्ह तथा आधिकारिक जानकारी हेर्न आग्रह गरेको छ । साथै बजारमा गुणस्तरहीन खाद्य पदार्थ बिक्री वितरण गर्ने उद्योग तथा व्यवसायीमाथि कानुनअनुसार कारवाही प्रक्रिया अघि बढाइने जनाएको छ । पछिल्लो समय बजारमा खाद्य वस्तुको गुणस्तरबारे प्रश्न उठिरहेका बेला विभागले अनुगमनलाई थप कडाइ गर्ने संकेत दिएको छ ।










प्रतिक्रिया दिनुहोस्