Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


मोटरसाइकलको ठक्करबाट साइकल चालकको मृत्यु, एक घाइते


0
Shares

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राईटरखोरमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

आइतबार राति मियाँखोरबाट पूर्वतर्फ सुकनाहा जाँदै गरेको भारतीय नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिएको प्रहरीले जनाएको हाे। दुर्घटनामा परी ईश्वरपुर नगरपालिका–२ राईटरखोर निवासी करिब ६५ वर्षीय किसुन देव साह गम्भीर घाइते भएका थिए। उनको टाउको तथा दुवै खुट्टामा गम्भीर चोट लागेको थियो।

घाइते साहलाई उपचारका लागि महोत्तरीको बर्दिबासस्थित शुभ–स्वस्तिक अस्पताल पठाइएको थियो। पछि आइतबार राति नै प्रादेशिक अस्पताल मलंगवामा चिकित्सकले परीक्षण गर्दा उनलाई मृत घोषणा गरेका हुन्। मृतकको शव सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका साेही नगरपालिका–१५ सुकनाहा निवासी १४ वर्षीय बिक्की कुमार राउत पनि घाइते भएका छन्।

उनको घुँडामा सामान्य चोट लागेको र स्थानीय औषधि पसलमा उपचार भइरहेको बताइएको छ। दुर्घटनापछि मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका–१५ सुकनाहा निवासी २३ वर्षीय मनिष साहलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय भक्तिपुरमा राखिएको प्रहरीले जनाएको हाे।

साेही घटनाकाे बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ।