सन्तोष राउत, सोलुखुम्बु । दलित समुदायबाट पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी इतिहास रच्नुभएका विजय घिमिरे विश्वकर्माको सगरमाथा आरोहणका क्रममा निधन भएको छ ।
घिमिरेको आइतबार आधार शिविर क्षेत्रमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईका अनुसार ३६ वर्षीय घिमिरे बिहान करिब ४ बजे सगरमाथाको क्याम्प–१ क्षेत्रमा पुगेपछि अचानक बिरामी पर्नुभएको थियो । उहाँलाई टाउको दुख्ने, श्वासप्रश्वासमा समस्या हुने तथा पेट दुख्ने लक्षण देखिएको थियो ।
अवस्था गम्भीर बनेपछि तत्काल आधार शिविरतर्फ फर्काउने प्रयास गरिएको थियो । उद्धारका क्रममा बिहान करिब ९ः३० बजे बाटोमै निधन भएको प्रहरी निरीक्षक राईले जानकारी दिनुभयो । ट्रेक नेपाल कम्पनी मार्फत आरोहण अभियानमा सहभागी घिमिरेको शव हेलिकोप्टरमार्फत लुक्ला हेलिप्याडमा ल्याइएको छ ।
घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी निरीक्षक तुलबहादुर सलामीको नेतृत्वमा टोली खटिएको प्रहरीले जनाएको छ । ट्रेक नेपाल कम्पनीका अनुसार शव पोस्टमार्टमका लागि काठमाडौंस्थित शिक्षक अस्पताल लाने तयारी छ ।
सोलुदुधकुण्ड नगरपालिका–७ भित्ताखर्क निवासी घिमिरे कठिन संघर्ष र अभावबीच पर्वतारोहण यात्रामा अघि बढेर पटक–पटक सगरमाथा आरोहण गर्नुभएको थियो । पछिल्लो समय उहाँ पर्वतारोहण गाइडका रूपमा समेत सक्रिय हुनुहुन्थ्यो ।










प्रतिक्रिया दिनुहोस्