सर्लाही । सर्लाहीमा पछिल्लो समय ग्यास सिलिन्डरसँग सम्बन्धित दुर्घटना बढ्न थालेका छन्।
हरिवन नगरपालिका–१ बिलन्दी टोलमा शुक्रबार बिहान ग्यास सिलिन्डर लिक हुँदा घरमा आगलागी भएको हाे । केही दिनअघि ईश्वरपुर नगरपालिका–७ मा ग्यास सिलिन्डर पड्किँदा एक स्थानीयको मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय सर्लाहीले शुक्रबार बिहान करिब ९ बजे दिवश बम्जनको काठले बनेको दुई तले घरको भान्सा कोठामा खाना पकाउने ग्यास सिलिन्डर लिक भई आगलागी भएको जनाएकाे छ ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीको कमाण्डमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली दमकलसहित घटनास्थल पुगेको थियो। स्थानीयवासीको सहयोगमा शुक्रबार बिहान पाैने १० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक अधिकारीले आगलागीबाट घर, लत्ताकपडा, अन्नपात, भाडाकुँडा, गरगहना तथा फर्निचर पूर्ण रूपमा जलेर नष्ट भएको बताउनुभयाे। यद्यपि क्षतिको विस्तृत विवरण अझै खुल्न बाँकी रहेको छ। घटनामा कुनै मानवीय तथा चौपाया क्षति भने भएको छैन।
त्यस्तै, यसअघि केही दिनअघि ईश्वरपुर नगरपालिका–७ मा ग्यास सिलिन्डर पड्किँदा एक स्थानीयको मृत्यु भएको थियो। लगातार ग्याससम्बन्धी दुर्घटना हुन थालेपछि स्थानीयवासी त्रसित बनेकाे प्रहरीले बताएकाे छ । सुरक्षा निकायले ग्यास सिलिन्डर प्रयोग गर्दा रेगुलेटर, पाइप तथा सिलिन्डरको अवस्था नियमित जाँच गर्न र ग्यास चुहावट भएको शंका लागे तत्काल सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेकाे हाे ।










प्रतिक्रिया दिनुहोस्