काठमाडाैं । कास्कीकाे पोखरामा सञ्चालन भएको पहिलो संस्करणको महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ ।
पोखरा रङ्गशालामा आइतबार राति सम्पन्न फाइनल खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ‘पेनाल्टी सुटआउट’मा ५–४ गोलले पराजित गर्दै पुलिस ‘च्याम्पियन’ बन्न सफल भएको हो । उपाधि विजेता पुलिसले पाँच लाखसहित ट्रफी पुरस्कार प्राप्त गर्दा उपविजेता आर्मीले तीन लाख रुपैयाँमा चित्त बुझाएकाे छ। पेनाल्टीमा पुलिसका लागि रेखा पौडेल, समीक्षा घिमिरे, पूजा राना, सविना चौधरी र वर्षा चौधरीले गोल गर्दा गोलरक्षक उषा चौधरीको पेनाल्टी आर्मीकी गोलरक्षक कोपिला खड्काले रोकिन् ।
आर्मीका लागि अनिता लाम्जेल, दीपा शाही, हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गर्दा अन्जना थुलुङ्ग राईको प्रहार पोष्टबारमा लाग्दै बाहिरियो भने इन्दिरा राईको प्रहारलाई पुलिसकी गोलरक्षक उषाले जोगाइन् ।
खेलको निर्धारित ९० मिनेटको समयको खेल गोलरहित बराबरीमा रोकिएको थियो । आर्मी पहिलो हाफमै १० खेलाडीमा सीमित बनेको थियो । पुलिसको एक खेलाडी कम हुँदा सोको फाइदा पुलिसले उठाउन सकेन । खेलको २७औँ मिनेटमा पुलिसकी निर्मला विकले बल अघि बढाउने क्रममा आर्मीकी ‘डिफेन्डर’ विमला विकले पेनाल्टी एरिया नजिक लडाएपछि उनले रातो कार्ड पाएकी थिइन् ।
विजेता टोली तथा खेलाडीहरुलाई नेपाली सेनाको पश्चिम पृतना पोखराका पृतनापति उपरथी भोलानाथ थापा र गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक तुलबहादुर कार्की लगायतले पुरस्कार वितरण गरेका थिए । यहि वैशाख १८ गतेदेखि शुरु भएको प्रतियोगितामा पुलिस, आर्मीसँगै संकटा र आयोजक आरएस पोखरा फुटबल क्लबको सहभागिता रहेकाे थियो ।










प्रतिक्रिया दिनुहोस्