Logo ३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026


प्रधानमन्त्री कप क्रिकेटमा मधेश प्रदेश र आर्मी क्लबकाे जित

पुलिस क्लब र लुम्बिनी प्रदेशकाे लज्जास्पद हार

143
Shares

काठमाडाैं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियाेगिताकाे लिग चरणको अन्तिम खेलमा मधेश प्रदेशले नेपाल पुलिस क्लबलाई ४ विकेटले पराजित गरेकाे छ।

वीरगञ्जमा बुधबार भएकाे खेलमा पुलिसले दिएको १ सय ३१ रनको लक्ष्य मधेशले २४ ओभर १ बलमा ६ विकेट गुमाएर भेटाएकाे हाे । मधेशका अरनिको यादवले नटआउट ६५ रन बनाए । पुलिसका गुल्सन झाले ३ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको पुलिसले ४० ओभर ३ बलमा १ सय ३० रन बनाउँदा सबै विकेट गुमायो । पुलिसका कुशल भुर्तेलले ३९ रन बनाए । मधेशका पवन सर्राफ, रञ्जीत कुमार र आशिक बैठाले ३/३ विकेट लिएका छन्।

त्यस्तै, जनकपुरमा बुधबारै भएको अर्काे खेलमा त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई १ विकेटले पराजित गरेकाे हाे । लुम्बिनीले दिएको १ सय ३९ रनको लक्ष्य आर्मीले २५ ओभर २ बलमा ९ विकेट गुमाएर भेटायो । आर्मीका कुशल मल्लले ४१ रन बनाए । लुम्बिनीका सन्तोष यादवले ५ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको लुम्बिनीले ३९ ओभर २ बलमा १ सय ३८ रन बनाउँदा सबै विकेट गुमायो । लुम्बिनीका रञ्जीत खड्काले २८ रन बनाए । आर्मीका कुशल मल्लले ४ विकेट लिए ।

१० वटा टोली सहभागी प्रधानमन्त्री कपको उपाधिका लागि यहि वैशाख ४ गते शुक्रबार शीर्ष २ टोली आर्मी र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने भएकाे छ । सुदूरपश्चिम पहिलो पटक फाइनलमा पुगेको हो । प्रतियोगितामा गण्डकी प्रदेश सातौं, बागमती प्रदेश आठौँ, कर्णाली प्रदेश नवौँ र कोशी प्रदेश १०औँ स्थानमा रहेका छन् ।