Logo ३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026


निर्वाचनको सुरक्षा, स्वच्छता र समयपालनमा नयाँ मानक स्थापित गरेका छौँ : प्रधानमन्त्री कार्की  (पूर्णपाठ)


156
Shares

काठमाडाैं ।

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको सुरक्षा, स्वच्छता र समयपालनमा हामीले नयाँ मानक स्थापित गरेका बताएकी छन्। बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफू नेतृत्वको अन्तरिम सरकारले छ महिने अवधिमा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सकेको स्मरण गराइन्।

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनमा ज्यान गुमाएका ७६ सहिद, २ हजार ६ सयभन्दा बढी घाइते, र आर्थिक क्षति भएकाहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको स्वास्थ्य लाभ र प्रभावित परिवारको सहानुभूति व्यक्त गरिन्। उनले राष्ट्रिय सुरक्षा संगठन, निर्वाचन आयोग, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, अदालतका कर्मचारी र राजनीतिक दलहरूको सहयोगको प्रशंसा गर्दै निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न भएको बताइन् ।

“निर्वाचनको सुरक्षा, स्वच्छता र समयपालनमा हामीले नयाँ मानक स्थापित गरेका छौँ। यसले हाम्रो लोकतन्त्रलाई थप सुसंस्कृत र समृद्ध बनाउनेछ,” उनले भनिन्। प्रधानमन्त्री कार्कीले आगामी नयाँ सरकारले भ्रष्टाचार अन्त्य, सुशासन, रोजगारी सिर्जना, आर्थिक विकास र सामाजिक न्यायमा परिणाममुखी कदम चाल्ने विश्वास व्यक्त गरिन्। उनले थपिन् जेनजी आन्दोलनको जगमा बनेको सरकारले आन्दोलनकारीसँग २०८२ मंसिर २४ मा गरेको सम्झौता केही अधुरा रहेकाले नयाँ सरकारले ती काम पूरा गर्नुपर्नेछ।

साथै, आन्दोलनका क्रममा क्षति भएका उद्योग, व्यापार, सार्वजनिक संरचना र पूर्वाधारको पुनर्निर्माणलाई प्राथमिकता दिइएको उल्लेख गर्दै उनले नयाँ सरकारलाई पूर्ण सफलताको कामना गरेकी छन्।