Logo १४ श्रावण २०८३, बिहिबार | Fri Jul 31 2026


सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री रावलको कार्यालयमा तालाबन्दी


338
Shares

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावलको कार्यालयमा तालाबन्दी गरेको छ।

पूर्व मुख्यमन्त्रीसमेत रहेका रावलको प्रदेश सभा परिसरस्थित दलको कार्यालयमा आइतबार दिउँसो कञ्चनपुरको कृष्णपुर नगर कमिटीले तालाबन्दी गरेको हो। युवा संघले रावल लामो समयदेखि सम्पर्कविहीन रहेको आरोप लगाउँदै शीघ्र सम्पर्कमा आउन आग्रह गरेको जनाएको छ।

यसैबीच, सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न अस्पताल व्यवस्थापन समितिमा गरेको नियुक्तिलाई लिएर एमालेभित्र असन्तुष्टि बढ्दै गएको छ। रावलले पार्टीसँग आवश्यक परामर्श नगरी एकलौटी निर्णय गरेको भन्दै असन्तुष्टि चुलिएको स्रोतले बताएको छ।

पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीले राजनीतिक नियुक्तिको विषयमा संसदीय दल र प्रदेश सरकारबीच समन्वय अभाव रहेको भन्दै पार्टी केन्द्रलाई समेत जानकारी गराइसकेको जनाएको छ।

प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीले पनि यस विषयमा केन्द्रलाई जानकारी गराइएको पुष्टि गरेका छन्। उनका अनुसार अस्पताल व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्य नियुक्त गर्दा दलका नेताले पार्टीसँग कुनै परामर्श नगरी निर्णय गरेपछि केन्द्रमा जानकारी गराउनुपरेको हो।