Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


चितवनमा ६० प्रतिशत खस्याे, आजै मतगणनाको तयारी


572
Shares

भरतपुर । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन जिल्लामा ६० प्रतिशत मतदान भएको छ।

बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सम्पन्न मतदानमा ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरण सार्वजनिक गरिएको हो।

जिल्ला निर्वाचन कार्यालय चितवनका निर्वाचन अधिकृत भिमसेन कार्कीका अनुसार प्रारम्भिक तथ्यांकअनुसार ६० प्रतिशत मतदान भएको हो। विस्तृत विवरण आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो। निर्वाचन आयोगको तथ्यांकअनुसार जिल्लामा कुल ४ लाख ४२ हजार ८२ मतदाता रहेका छन्।

जसमध्ये २ लाख २४ हजार ७६६ महिला, २ लाख १७ हजार ३१४ पुरुष तथा २ जना अन्य मतदाता रहेका छन्। त्यस्तै ३ हजार १८५ जना अस्थायी मतदाता छन्। अस्थायी मतदातामध्ये १६२ जना कारागारमा रहेका कैदीबन्दी हुन् र उनीहरूले समानुपातिकतर्फ मात्र मतदान गरेका छन्।

मतदान सकिएसँगै विभिन्न मतदान केन्द्रबाट मतपेटिका संकलन गर्ने कार्य जारी छ। मतपेटिका संकलन सम्पन्न भएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने चितवनका मुख्य निर्वाचन अधिकृत केदार पौडेलले बताउनुभयो। चितवनमा तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन्।

क्षेत्र नम्बर १ को मतगणना खैरहनी नगरपालिका–६ स्थित भुवानीशंकर क्याम्पसमा, क्षेत्र नम्बर २ को मतगणना भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा तथा क्षेत्र नम्बर ३ को मतगणना रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा गरिने तयारी गरिएको छ।