दीपक श्रेष्ठ/कबिर महर्जन (इमेज)
काठमाडौं, असोज ९ । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याका विषयमा छानबिन गर्न गठित उच्चस्तरीय समितिले आफ्नो प्रतिवेदन गृहमन्त्री रामबहादुर थापालाई बुझाएको छ ।
कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीको संयोजकत्वमा गत भदौ ७ गते गठित समितिले प्रतिवेदन बुझाएपछि अब सबैको ध्यान एआइजी धीरु बस्नेत नेतृत्वको समितितर्फ सोझिएको छ ।
अनुसन्धानकैक्रममा रहेको धीरु बस्नेत नेतृत्वको टोली पनि हालसम्म कुनै ठोस निष्कर्षमा पुग्न भने सकेको छैन ।
धीरु बस्नेत समितिले कन्चनपुरकी निर्मला पन्तको बलात्कार एवं हत्या अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको पोलिग्राफ परीक्षण सुरु गरेको छ ।
अनुसन्धानमा लापरबाही भएको तथ्य सार्वजनिक भएपछि घटनाको अनुसन्धान गर्ने प्रहरी अधिकारीको पोलिग्राफ परीक्षण सुरु गरिएको हो ।
स्रोतकाअनुसार समितिले निर्मला हत्याको घटनास्थलमा खटिएर अनुसन्धान गर्ने तथा निर्मलाले लगाएको कपडा पखाल्ने प्रहरी कर्मचारीमध्ये केहीको पोलिग्राफ परीक्षण गरिसकेको छ भने अन्यको परीक्षण गरिरहेको छ ।
फिल्डमा खटिएका प्रहरीको परीक्षण सकिएको तथा तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्टलगायतको पनि पोलिग्राफ परीक्षण हुने प्रहरी प्रवक्ता शैलेस थापा क्षत्री बताउँछन् ।
बर्दी लगाएर गैरजिम्मेवारीपूर्ण काम गर्छन् भने प्रहरीलाईसमेत नछाडिने उनी बताउँछन् ।
सुरूमा एसएसपी उत्तम सुवेदीको नेतृत्वमा पाँच सदस्यीय समिति बनेको थियो ।
प्रहरीले मुख्य अभियुक्त भनी दाबी गरेका दिलीपसिंह बिष्टको डीएनए रिपोर्टपछि समितिको आकार ठूलो बनाएर एआइजीको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरिएको हो ।
हरि मैनाली नेतृत्वको समितिको प्रारम्भिक प्रतिवेदनपछि गृह मन्त्रालयले साउन १४ गते घटना छनबिन गर्न गएको सीआइबी टोलीका तीनसहित पाँच प्रहरी अधिकारीलाई निलम्बन गरेको थियो ।
धीरु बस्नेतको समितिले ती निलम्बित पदाधिकारीमाथि पनि छानबिन गर्दैछ ।
यसअघि, निलम्बनमा परेका कन्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्टलगायत तीनजनाको डीएनए टेस्ट पनि समितिले गरिसकेको छ ।
गृह मन्त्रालयद्वारा गठित उच्चस्तरीय छानबिन समितिले एक महिना लामो अनुसन्धानपछि प्रहरीले गरेको विवादित अनुसन्धान र कन्चनपुरबासीले गरेको आन्दोलनको स्थलगत अनुसन्धान प्रतिवेदन सोमबार गृह मन्त्रालयमा बुझाएको छ ।
तर, यस्तो संवेदनशील प्रतिवेदन बुझ्ने बेलामा गृहमन्त्री थापा प्रेसप्रति अनुदार देखिए ।
प्रतिवेदन बुझ्ने कार्यक्रममा मिडियालाई उपस्थिति नै दिइएन भने प्रतिवेदनमा के–कस्ता कुरा समेटिएको छ ? भन्नेबारे गृह मन्त्रालयले आधिकारिक जानकारी कसैलाइ दिएको छैन ।
प्रतिक्रिया दिनुहोस्