Logo २७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026


सर्लाही-१ मा यस पटक रोचक प्रतिष्पर्धा हुँदै (भिडियाे रिपाेर्ट)

पुराना पार्टीबाट मैदानमा उत्रिएका ३ जना पूर्वसांसदलाई रास्वपा उम्मेदवारकाे चुनौती

429
Shares

सर्लाही । सर्लाहीको निर्वाचन क्षेत्र-१ मा राजनीतिक दलहरुबीच यस पटक रोचक र कडा प्रतिस्पर्धा हुने देखिएको छ । तीन जना पूर्व सांसदहरुसहित २८ जना उम्मेदवार चुनावी मैदानमा रहेको यस क्षेत्रको प्रतिष्पर्धा मतदानको दिन जति नजिकिंएकाे छ । त्यति नै रोचक पनि बनिरहेकाे हाे ।

सर्लाही-१ मा यस पटक नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । नेपाली कांग्रेसबाट शम्भुलाल श्रेष्ठ, नेकपा एमालेबाट मनोजकुमार देवकोटा, नेकपाबाट प्रमोद साह र राष्ट्रिय स्वतन्त्र पार्टीबाट नीतिमा भण्डारी कार्की उम्मेदवार रहेका हुन् । उम्मेदवारहरु घरदैलो र सभामा ब्यस्त रहेका बेला राजनीतिक विश्लेषकहरूले स्थानीय तहको शक्ति सन्तुलन, जातीय तथा भौगोलिक प्रभाव र राष्ट्रिय राजनीतिक परिस्थितिले यस पटकको परिणाम प्रभावित पार्ने आँकलन गरेका हुन् ।

कुल १ लाख ३० हजार ८ सय ७१ मतदाता रहेको यस क्षेत्रमा चुरेदेखि मधेशको समथर भूभागसम्मको भूगोल समेटिएको छ । चन्द्रनगर गाउँपालिकाका १ देखि ७ सम्मका वडा, लालबन्दी नगरपालिकाका १ देखि १७ सम्मका वडा, ईश्वरपुर नगरपालिकाका १ देखि १४ सम्मका, हरिपुर नगरपालिकाका २ देखि ९ सम्मका वडा, कविलासी नगरपालिकाका १ र २ नम्बर वडा समावेश छन् । जिल्लाकै प्रमुख व्यापारिक केन्द्र लालबन्दी र बयलबास बजारसमेत यस क्षेत्रमा पर्ने भएकाले यहाँ ग्रामीण र अर्ध–सहरी मतदाताको मिश्रित संरचना देखिन्छ ।

साेही क्षेत्रमा खानेपानी अभाव र सिंचाइको समस्या प्रमुख मुद्दाका रूपमा उठ्दै आएको छ । कृषि पेशामा आश्रित अधिकांश मतदाताले वर्षौंदेखि सिंचाइ सुविधा विस्तार र स्थायी खानेपानी समाधानको माग गर्दै आएका छन्। साथै, कृषि विश्वविद्यालय स्थापना, सुनकोशी–मरिण सिँचाइ आयोजनाको पानी ल्याउने पहल, तथा लालबन्दी–मरिण–नेपालथोक सडक सञ्जाल निर्माणजस्ता विकास आयोजनालाई पनि मतदाताले प्राथमिकतामा राखेका हुन्। उम्मेदवारहरुले स्थानीयका एजेण्डा बोकेर मत मागिरहेका छन् ।

स्थानीय बुद्धिजीवीहरूले पनि अब निर्वाचित हुने प्रतिनिधिले दीर्घकालीन विकास योजनामा ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिएका हुन् । चुनावी सरगर्मी बढ्दै गए पनि अधिकांश मतदाता यतिबेला उखु कटानी, दलहन तथा तेलहन बाली भिर्त्याउने, गहुँबालीमा मलखाद हाल्ने तथा हिउँदको फुर्सदमा मजदुरीका काममा व्यस्त देखिन्छन् । गाउँगाउँमा उम्मेदवारको घरदैलो कार्यक्रम चलिरहे पनि मतदाता भने विकास, रोजगारी र आधारभूत सेवामा सुधारको अपेक्षा राख्दै चुनावी परिणामको प्रतीक्षामा छन् ।

सर्लाही–१ बाट यस पटक नयाँ अनुहार उदाउँछन वा पूर्व प्रतिनिधिमध्ये कुनै दोहोरिन्छन भन्ने चासो पनि चुलिँदै गएको हाे ।
विस्तृतमा भिडियाे रिपाेर्ट हेर्नुहाेस्: