Logo २३ श्रावण २०८३, शनिबार | Sun Aug 9 2026


बैतडीको झुलाघाट सीमानाका ३ दिन बन्द हुने


156
Shares

काठमाडाैं । बैतडीको झुलाघाट सीमानाका तीन दिन बन्द हुने भएको छ ।

आसन्न निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएका कारण बन्द गरिएकाे हाे। मतदान हुनु भन्दा ७२ घण्टा पहिलादेखि सीमानाका बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिनुभएकाे छ। उहाँले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि भारतसँग सीमा जोडिएको झुलाघाट नाका यहि फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म बन्द गरिने बताउनुभयाे ।

जिल्लाको ३१ किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएकाले सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको र सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी बलका (बिओपी) मार्फत सुरक्षा निगरानी बढाएको जिल्ला सुरक्षा समितिले जनाएको हाे । जिल्लाको तल्लोसोराड क्षेत्रमा महाकाली नदीका विभिन्न घाटहरुमा डुङ्गामार्फत वारपार गर्ने गरिएकाले चुनावका बेला ती सबै घाटहरुबाट आवतजावत बन्द गरिने प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयाे ।

गत निर्वाचनकाे समयमा पनि ७२ घण्टा सीमानाका बन्द गर्ने गरिएकाे थियाे । अत्यावश्यक कामका लागि उक्त समयमा नाका खोल्नुपरेमा दुई देशको आपसी समन्वयमा खोल्न सकिने प्रशासनले जनाएको छ ।