Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


सुनिता डंगोल काठमाडौं महानगरको कार्यबाहक प्रमुख


1.6k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कार्यबाहक प्रमुखको जिम्मेवारी पाएकी छन्।

मेयर बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिएलगत्तै स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार उनी स्वतः कार्यबाहक प्रमुख बनेकी हुन् ।

उक्त ऐनमा मेयरको पद रिक्त भएमा उपमेयरले कार्यबाहक प्रमुखको जिम्मेवारी सम्हाल्ने स्पष्ट व्यवस्था छ। सोही कानुनी प्रावधानअनुसार डंगोलले महानगरको नेतृत्व सम्हालेकी हुन्। मेयर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय पुग्नुअघि औपचारिक रूपमा पदबाट राजीनामा दिएका थिए। उनी केहीबेरमा रास्वपाको केन्द्रीय कार्यालय पुग्ने कार्यक्रम छ।

रास्वपा कार्यालयमा कार्यकर्ता तथा शुभचिन्तकहरूको बाक्लो भिड जम्मा भएको छ। दिउँसो १ बजे नै कार्यालय पुग्ने भनिए पनि राजीनामा लगायतका विषयमा अन्तिम निर्णयमा दोधार हुँदा बालेन केहीबेर ढिला भएका थिए। रास्वपामा प्रवेश गरेपछि बालेनले झापा–५ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारी गरेका छन्। हाल उनी रास्वपाका वरिष्ठ नेताको भूमिकामा रहने बताइएको छ।