Logo ७ माघ २०८२, बुधबार | Thu Jan 22 2026


‘आगामी निर्वाचनमा एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई भोट नदिनुस्’ : मन्त्री सिन्हा


221
Shares

काठमाडाैं ।

कानून न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आगामी निर्वाचनमा एउटा कानून बनाउन पाँच वर्ष लगाउनेहरुलाई भोट नदिन आग्रह गर्नुभएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगले बिहीवार आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले जनताप्रति उत्तरदायी र जिम्मेवारीवोध भएका जनप्रतिनिधि चुन्न आग्रह गर्नुभयो । जेन–जी आन्दोलनले योग्य जनप्रतिनिधि छान्ने मौका दिएको उहाँको भनाई छ ।

उहाँले हाल एउटा कानून बनाउन ५ वर्ष र प्रत्यायोजि विधायन बनाउन अर्को ५ वर्ष लगाउने जनप्रतिनिधि हुँदा समस्या भएको बताउनुभयो । उहाँले फागुन २१ गते निर्वाचन गराउन सरकार प्रतिवद्ध रहेको पनि उल्लेख गर्नुभयो । उहाँले फेरि पनि पाँच जना व्यक्तिको ईसारामा कानून बनाउनेलाई भोट दिएमा अर्को १० वर्षमा पनि देश यही स्थितिमा रहने बताउनुभयो ।

उहाँले भन्नुभयो, यो एउटा कानुन बनाउन ३ वर्षको ठाउँमा ५ वर्ष लगाउने हाम्रा प्रकृतिका हाम्रा जनप्रतिनिधि त्यसको प्रत्यायोजित विधायन बनाउनको निम्ति अर्को ५ वर्ष लगाउने जनप्रतिनिधिहरु, यस्ता प्रतिनिधिहरुलाई तपाई फेरि भोट खसाल्न जानुहुन्छ भने तपाईहरुको हात काम्नुपर्छ । चुनावमा अब कमसेकम यो अवरनेश भएको र तपाईहरुलाई डेलिभर गर्नसक्ने र जनतासंग पुग्नसक्ने जनप्रतिनिधिहरुलाई तपाईहरुले अब चुन्नुस्, यो मौका अब तपाईहरुलाई आएको छ । जेनजी आन्दोलनले यो मौका दिएको छ ।

मैले तपाईहरुलाई भने समयमा चुनाव गर्नुपर्छ, सरकार निर्वाचन गर्न प्रतिवद्ध छ । अबको समय भनेको ५ जनाले ताली बजाउ भनेर भन्नासाथै ताली बजाएर कानुन पारित गर्ने व्यक्तिलाई चुनेर पठाउनुभयो भने १० वर्ष पछि हामीले कुरा गर्दाखेरी यही ठाउँमा फर्केर आइराखेका हुन्छौँ ।’ उहाँले आवश्यकताका आधारमा कानून निर्माणमा प्राथमिकता दिनुपर्ने पनि बताउनु भयो । उहाँले कानून बनाउँदा बाझिने खालको कानून बनाउन नहुनेमा पनि जोड दिनुभयो ।