Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


देशैभरी छरिएर रहेका स्वास्थ्य सेवा एकीकृत गर्न जरूरीः मन्त्री पौडेल


559
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले देशैभरी छरिएर रहेका स्वास्थ्य सेवाहरु एकीकृत गर्न जरुरी रहेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो । संघ, प्रदेश र स्थानीय तहबाट सञ्चालित सबै प्रकारका स्वास्थ्य सुविधा सम्बन्धी कार्यक्रमलाई उहाँले स्वास्थ्य बीमा बोर्डमा गाभ्न प्रस्ताव गर्नुभयो । उहाँले स्वास्थ्यसम्बन्धी कार्यक्रमहरु छरिएका कारण नागरिकलाई सस्तो, सर्वसुलभ र विपन्न वर्गलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने सरकारको लक्ष्य पूरा हुन नसकेको उहाँको भनाइ छ ।

स्वास्थ्य क्षेत्रमा धेरै ठूलो खर्च भए पनि त्यसअनुसारको परिणाम आउन नसकेको उहाँले बताउनुभयाे । स्वास्थ्य प्रणालीलाई एकीकृत गरेर प्रभावकारिता वृद्धि गर्नुपर्ने आवश्यकता रहेकाे बताउदै उहाँले स्वास्थ्य बीमा बोर्डलाई केन्द्रीय निकायका रूपमा विकास गर्नुपर्ने बताउनुभएकाे छ। पालिकादेखि संघसम्म सञ्चालित सबै स्वास्थ्य सेवा कार्यक्रम, सामाजिक सुरक्षा कोष र सञ्चय कोषबाट सञ्चालनमा रहेका स्वास्थ्य सुविधा समेत स्वास्थ्य बीमा बोर्डमा गाभ्न जरुरी रहेको उहाँकाे धारणा छ ।

मन्त्री पौडेलले देशमा काम गर्ने वातावरण निर्माण गर्न नसक्दा स्वास्थ्य क्षेत्रका जनशक्तिहरु पलायन भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । सेवा सुविधाको अभाव तथा काम गर्ने वातावरण अभावका कारण स्वास्थ्यकर्मी विदेश पलायन भइरहेको उल्लेख गर्दै सरकारले यी समस्याहरुको समाधान हुनेगरी नीति ल्याउनुपर्नेमा जोड दिनुभएकाे छ ।