Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


एस्कोको एसिया–प्रशान्त क्षेत्रीय परिषद्मा पहिलोपटक नेपाली चिकित्सक


0
Shares

काठमाडौँ । अमेरिका सोसाइटी अफ क्लिनिकल अन्कोलोजी (एस्को)को एसिया–प्रशान्त क्षेत्रीय परिषद्को सदस्यमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही मनोनित भएका छन्।

नेपाल पहिलोपटक प्रतिनिधित्व भएको उक्त परिषद्मा डा. शाही तीन वर्षका लागि मनोनित भएका हुन्। एस्कोकी अध्यक्ष डा. एलिजाबेथ ए. मिटेनडोर्फले जारी गरेको पत्रअनुसार डा. शाहीको कार्यकाल सन् २०२६ अक्टोबर १ देखि २०२९ सेप्टेम्बर ३० सम्म रहनेछ। विश्वभर क्यान्सर उपचार, अनुसन्धान, शिक्षा तथा नीतिगत सुधारका क्षेत्रमा काम गर्दै आएको एस्कोको एसिया–प्रशान्त क्षेत्रीय परिषद्मा नेपालसहित १३ नयाँ राष्ट्र समावेश भएका छन् ।

डा. शाहीले यसलाई आफ्नो व्यक्तिगत उपलब्धिभन्दा नेपाली क्यान्सर उपचार क्षेत्रकै गौरवका रूपमा लिएको बताएका छन्। परिषद्मा रहेर नेपालमा क्यान्सर उपचारको पहुँच विस्तार, अनुसन्धान प्रवर्द्धन, आधुनिक प्रविधि हस्तान्तरण तथा नीतिगत सुधारका लागि क्षेत्रीय विज्ञहरूसँग सहकार्य गर्ने उनको भनाइ छ।

सन् १९६४ मा स्थापना भएको एस्को क्यान्सर विशेषज्ञ चिकित्सक तथा अन्कोलोजीसम्बन्धी स्वास्थ्यकर्मीहरूको अन्तर्राष्ट्रिय व्यावसायिक संस्था हो। क्यान्सरसम्बन्धी अनुसन्धान, शिक्षा, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि तथा गुणस्तरीय बिरामी सेवाको प्रवर्द्धनमार्फत क्यान्सरको भार घटाउने यसको उद्देश्य छ।

एस्कोले एसिया–प्रशान्त क्षेत्रमा आफ्नो सहभागिता विस्तार गर्न सन् २०१९ मा क्षेत्रीय परिषद् स्थापना गरेको हो। परिषद्ले यस क्षेत्रका क्यान्सर विशेषज्ञ तथा सदस्यहरूको आवश्यकता पहिचान गर्ने, एस्कोका विश्वव्यापी कार्यक्रमहरूमा क्षेत्रीय सहभागिता बढाउने र क्यान्सर उपचारमा देखिएका साझा तथा स्थानीय चुनौती समाधान गर्न सहकार्य प्रवर्द्धन गर्ने काम गर्छ।

परिषद्ले क्षेत्रीय आवश्यकताअनुसार शैक्षिक कार्यक्रम तथा स्रोतहरूलाई उपयोगी बनाउने, संस्थाका अवसर र सेवाबारे जानकारी विस्तार गर्ने र क्यान्सर विशेषज्ञहरूलाई नेतृत्व विकासका अवसर उपलब्ध गराउने कार्यमा सहयोग पुर्‍याउँछ। यसले एसिया–प्रशान्त क्षेत्रका अन्कोलोजी विशेषज्ञहरूबीच ज्ञान, अनुभव तथा उपचारका उत्कृष्ट अभ्यास आदानप्रदान गर्नसमेत अवसर प्रदान गर्छ।

यसअन्तर्गत सञ्चालन हुने ‘एस्को माइकनेक्सन एसिया–प्रशान्त कम्युनिटी अफ प्राक्टिस’ कार्यक्रमले क्षेत्रीय विशेषज्ञहरूबीच संवाद र सहकार्यलाई प्रोत्साहन गर्छ। त्यस्तै, ‘इन्टरनेसनल क्लिनिकल रिसर्च स्कलर्स’ कार्यक्रमले अनुसन्धान क्षमता विकास, परामर्श तथा तालिम उपलब्ध गराउनुका साथै भावी अनुसन्धान नेतृत्व तयार गर्न सहयोग पुर्‍याउँछ।

एस्कोको ‘इन्टरनेसनल क्यान्सर कोर्प्स’ कार्यक्रमअन्तर्गत मलेसियाको सारावाक जनरल अस्पतालसँग सहकार्य गरी स्थानीय आवश्यकताअनुसार तालिम तथा रणनीतिक पहलमार्फत क्यान्सर उपचार सेवाको गुणस्तर सुधार गर्ने प्रयाससमेत गरिएको छ।
क्यान्सर उपचारका क्षेत्रमा क्षेत्रीय सहकार्य, अनुसन्धान र स्वास्थ्य संस्थाको क्षमता विकासलाई प्राथमिकता दिँदै आएको परिषद्मा नेपालको प्रतिनिधित्व हुनुले नेपाली क्यान्सर विशेषज्ञहरूलाई अन्तर्राष्ट्रिय ज्ञान, प्रविधि तथा अनुसन्धानका अवसरसँग जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Skip This