Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


झुम्का कारागारमा ३ कैदीको मृत्यु


2.2k
Shares

काठमाडाैं । सुनसरीको झुम्का कारागारमा चार दिनमा तीन जना कैदीबन्दीको मृत्यु भएको छ।

उनीहरूमा उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र वान्ता हुनेजस्ता लक्षण देखिएको कारण उपचारका क्रममा ज्यान गएको कारागार प्रशासनले जनाएको छ।

पछिल्लो पटक सप्तरीको राजविराज–८ निवासी ४६ वर्षीय जलेश्वर यादवको बुधबार साँझ मृत्यु भएको हो। जबरजस्ती करणी अभियोगमा सजाय भोगिरहेका यादव बुधबार दिउँसो अचानक बेहोस भएपछि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।

त्यसअघि, भदौ १५ गते गढी गाउँपालिका–६ का ४८ वर्षीय रामदेव उराव र १६ गते धरानका २४ वर्षीय सागर राईको मृत्यु भएको थियो। उराव कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई सजाय काटिरहेका थिए भने राई लागूऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका थिए।

हाल उच्च ज्वरोका कारण १३ जना कैदीलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ। बिरामीको संख्या बढेपछि जिल्ला सुरक्षा समिति सुनसरीको टोलीले कारागारको अनुगमन गरेको छ र बुधबार रातिदेखि स्वास्थ्य शिविर सञ्चालनमा ल्याइएको छ।

झुम्का कारागारमा हाल १,७९५ जना कैदीबन्दी रहेका छन्।

Skip This