४ भाद्र २०८२, बुधबार | Wed Aug 20 2025


निलबाराहीमा विवाद किन र केकाे लागि ?


1.378k
Shares

काठमाडौं उपत्यकाकै प्रमुख धार्मिक र पर्यटकीय गन्तव्य निलबाराही क्षेत्रकाे भूक्षय राेकथाम र नियन्त्रणकाे लागि थ्रिडी नक्सासहितकाे याेजना सार्वजनिक गरिएको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका- ९ क्षेत्रमा काठमाडौं उपत्यका विकास प्राधिकरण र नगरपालिकाले तयार गरेकाे याेजना विषयमा पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।


नगरपालिकाकाे दाबी:
१) भूक्षय राेकथाम र नियन्त्रणकाे लागि बायाे इन्जिनियरिङ, पाइलिङ, नेलिङ, ग्राउटिङ, ग्रिड बिम लगायतका अत्याधुनिक प्रविधि प्रयाेग गरेर वातावरणमैत्री ढंगले काम हुने ।
२) नगरपालिकाले स्थानीय सराेकार समितिसँग निरन्तर छलफल गरेर प्राप्त सुझाव संलग्न गरेर याेजना तयार गरेकाे ।
३) स्थानीय जनप्रतिनिधि, नगरबासी र धार्मिक आस्थावान महानुभावहरूबाट थालिएको जनश्रमदान सन्चालन हुँदै आएकोमा उहाँहरूसँग पनि आवश्यक समन्वय गरेर याेजना लागू गर्ने ।
४) मिति २०८२ भदाै ३ गते मंगलबार बिहान निलबाराही रिसाेर्टमा स्थानीय सराेकार समितिसँग समन्वय गरेर थ्रिडी नक्सासहितकाे याेजना सार्वजनिक गर्ने काम स्थगित भएकोले आकस्मिक पत्रकार सम्मलेन मार्फत मध्याह्न २:०० बजे याेजना सार्वजनिक गरिएको ।
५) निलबाराही क्षेत्र संरक्षणको लागि निलबाराही गुरूयाेजना कार्यान्वयन गर्न नगरपालिकाकाे आन्तरिक स्राेत अपुग भएकोले केन्द्रीय सरकार तथा सम्बन्धित निकायसँग सहकार्य गरेकाे ।
६) निलबाराही क्षेत्र संरक्षणको लागि २०७९ सालदेखि नगरपालिकाले काम गर्दैआएकाे ।
७) निलबाराही जङ्गलकाे पश्चिम भागमा अतिक्रमण भएको करिव चार राेपनी जग्गा संरक्षण गरिएको ।
८) निलबाराही जङ्गलकाे उत्तर पश्चिम क्षेत्रमा करिव २ राेपनी १४ आना जग्गामा पर्खाल लगाएको ।
९) आ.व. २०८०-८१, २०८१-८२ र २०८२-८३ मा वजेट विनियोजन गरेर क्रमिक रूपमा काम गर्दैआएकाेमा केन्द्र सरकारकाे

समपूरक अनुदान मार्फत प्राप्त भएको ९ कराेड ७६ लाख ३२ हजार १ सय ८८ रूपियाँ मध्ये पहिलाे किस्ताकाे १ कराेड ६० लाख रूपियाँकाे निलबाराही प्रवेशद्वारदेखि सरस्वतीखेल उकालाेसम्मकाे काम सम्पन्न भएको । त्यस्तै दाेस्राे किस्ताकाे ३ कराेड वजेट मध्ये निर्माण व्यवसायीसँग सम्झाैता गरेर २ कराेड ८२ लाख ९२ हजार १ सय ६८ काे कार्यदेश बमोजिम १० प्रतिशत पेश्की दिइएको । चालू आ.व.मा ८ कराेड ३३ लाख ३३ हजार रूपियाँ (नगरपालिकाकाे पनि वजेट थपेर) बराबरको भूक्षय राेकथाम र नियन्त्रणकाे काम अघि बढाइएको ।

स्थानीयबासी तथा निलबाराही क्षेत्रप्रति आस्था राख्नेहरूले गठन गरेकाे निलबाराही क्षेत्र संरक्षण अभियानले पचासाैं हजार व्यक्तिलाई सहभागी गराएर गएकाे २०८२ जेठदेखि जनश्रमदानमार्फत भूक्षय राेकथाम र नियन्त्रण गर्दैआएकाे प्रशंसनीय छ । उहाँहरूले रातदिन खटेर निलबाराहीप्रति आस्थावानहरूलाई जनश्रमदान तथा आर्थिक सहयाेगकाे लागि स्वस्फूर्त आह्वान गरेर काम गर्दैआएकाेमा टिगनीकाे पार्किङ क्षेत्रदेखि करिव मन्दिर छेउसम्म माटाे पुर्ने र विपद्‌जन्य भूक्षय राेकथामकाे काम सम्पन्न गर्नुभएको छ । साे काममा राजधानीका थुप्रै संघसंस्थाले सराेकार देखाएर आर्थिक र भाैतिक सहकार्य गरेकाे छ । पछिल्लो समय महिनाैंदेखि द्रुतगतिमा अघि बढेकाे जनश्रमदानमा प्राविधिक कारणले अवराेध सिर्जना भएको छ ।

भदाै २ गते निलबाराही क्षेत्र संरक्षण अभियानले माटाे सम्याउन र भूक्षय राेकथामकाे लागि (माटाे लिन जाने ठाउँ चाँगुनारायण नगरपालिकामा) चलाएकाे एक्जाभेटर (जेसिभी)लाई प्रहरीमार्फत बन्द गराइएको छ । साेही कारणले जनश्रमदाताहरू भदाै २ गतेदेखि चाँगुनारायण नगरपालिकास्थित प्रहरी चाैकीमा एक्जाभेटर रिलिज गर्न माग गर्दै विराेधमा छन् ।


सरसर्ती हेर्दा निलबाराही क्षेत्रकाे भूक्षय राेकथाम र नियन्त्रणकाे लागि नगरपालिका र उपत्यका विकास प्राधिकरण एकातर्फ देखिएको छ । अर्काेतर्फ स्वस्फूर्त गठन भएको निलबाराही क्षेत्र संरक्षण अभियान देखिएको छ । दुइटै पक्षको उद्देश्य एउटै हाे/छ । त्यसमा पनि स्थानिय सरकारकाे याेजना भूक्षय राेकथाम र नियन्त्रणकाे अल्पकालीन याेजनामा मात्र सीमित नभएर विस्तृत गुरूयाेजना बनाएर अतिक्रमित जग्गा संरक्षणदेखि धार्मिक र पर्यटकीय गन्तव्यलाई आकर्षणकाे केन्द्र बनाएर अघि बढ्ने, काठमाडौं उपत्यकाको कंक्रिट जङ्गलबीचकाे स्वच्छ श्वास लिने ठाउँ बनाउने र स्वस्फूर्त भूक्षय राेकथामकाे लागि काम गरेकाे समूहसँग समन्वय, सहकार्य गरेर अघि बढ्ने रहेकाे छ ।


तर, विवाद किन र केकाे लागि छ ?
म पालिकावासी सञ्चारकर्मी भएको सन्दर्भमा निलबाराही क्षेत्र संरक्षण गर्नमा निर्विवाद काम सम्पन्न भएको हेर्ने इच्छा छ । सरकारले नै नेतृत्व लिएकाे काममा जनसाधारणले सहकार्य गर्नुपर्छ बरू गलत भएको/गरेकाे अवस्थामा सचेत गराउने, आवश्यक निरीक्षण गर्ने तथा चेतावनी दिनेसम्मकाे दायित्व हाम्रो पनि हाे । कानुनी राज्यमा कानुनविपरितकाे कुनैपनि गतिविधि वान्छनीय छैन/हुँदैन । अहिले नेतृत्व लिएकाे समूहले नेपाल सरकारकाे ढिलासुस्ती, प्राविधिक जटिलताले उत्पन्न भएकाे उदासिनता, सबैकाे आस्थाकाे केन्द्र निलबाराही क्षेत्रमा देखिएकाे विपद्‌काे अवस्थालाई उदाङ्गाे बनाएकाे छ र धेरै हदसम्म स्थानीयबासीले गर्नसक्ने विपद् व्यवस्थापन सम्बन्धिकाे कामकाे ल्याकत प्रदर्शन गरेर उदाहरण प्रस्तुत गरेको छ ।
अब, अहिलेसम्म स्वस्फूर्त काम गरेकाे समूहलाई उच्च सम्मान दिएर, सम्पन्न गरेकाे कामकाे उचित मूल्यांकन गर्नुपर्छ । उहाँहरूकाे इच्छा सम्बाेधन गर्दै अघि बढ्नुपर्छ । निलबाराही क्षेत्रकाे भूक्षय राेकथाम र नियन्त्रणकाे लागि जसले जेजे गर्नुभयाे, जति गर्नुभयाे, जहाँसम्म गर्नुभयाे सबैलाई उच्च सम्मान व्यक्त गर्दछु ।