५ बैशाख २०८१, बुधबार | Wed Apr 17 2024


‘संस्कार बिनाको राजनीति’


455
Shares

काठमाडाैं । संस्कारले हरेक क्षेत्रलाई सु-संस्कृत र मर्यादित बनाउछ।

मुलुकलाई राजनीतिले गतिमान बनाउने भएकोले राजनीति सु-संस्कृत हुन जरुरी छ। संस्कारसहितको राजनीतिले शासन व्यवस्थालाई पद्धतिमा मात्र ल्याउने नभइ सबै क्षेत्रमा सकारात्मक भाव पनि प्रवाह गर्छ । यो समृद्ध नेपालको आधार स्तम्भ पनि हो। लोकतान्त्रिक व्यवस्थामा सबै नागरिक सार्वभौम सत्ता सम्पन्न हुन्छन् ।सार्वभौम अधिकार प्रयोग गरेर चुनाव मार्फत आफ्ना प्रतिनिधि राज्य सञ्चालनमा पठाउँछन।

समग्र राज्य तथा आम नागरिकको जीवनस्तर उकास्नको लागि जनप्रतिनिधिको दायित्व हो। साथै आम जनमानसमा असल संस्कार प्रवाह गर्ने निष्ठा, मर्यादा युक्त विधि पद्धतिको विकास गर्ने, विश्व समुदायलाई सु-संस्कृत संस्कार सिकाउने राजनीतिज्ञको दायित्व हो। त्यसका लागि आम जनप्रतिनिधिको व्यवहार मर्यादित र उत्तरदायी हुन आवश्यक छ। तर २०४६ यताको प्रजातान्त्रिक अभ्यास नियाल्दा अझै राजनीतिक दल र नेतामा संस्कारको विकास हुन सकेको छैन।

पछिल्लो समय राजनीतिमा इमानदारिता, नैतिकता र संस्कारको संकट अझै तड्कारो बनिरहेको छ। राजनीतिमा जीवन बिताएका नेता पनि यस मामलामा कमजोर देखिएका छन। एक-अर्कालाई न्यून स्तरको गाली गलौज गर्ने मिल्दा एउटै ज्यान एउटै प्राण छुट्टिदा भित्तै सम्म पुर्याउने जुन प्रकारको संस्कार छ । यसले आम नागरिक लाई निरासा जनक गराइरहेको छ। केही महिना अगाडि नेपाली कांग्रेसका एक जिम्मेवार नेताले नेकपा माओवादीका नेतालाई भिख माग्ने भिखारिको सँज्ञा दिएका तितो यथार्थ हामी माझ ताजै छ। साथै तत्कालीन अवस्था २०७५ जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादीबीच पार्टी एकता हुँदा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए हिन्द महासागरमा गएर कोशी र सेतीको पानी कुन हो छुट्टाउन सकिदैन ।

हामी एकीकृत मात्र होइन अन्तर घुलित भएका छौं। ओलीको शैली पछ्याउँदै प्रचण्डले भनेका थिए- हाइड्रोजन र अक्सिजन मिलेर बनेको पानीबाट ती दुई तत्व छुट्टाउन सकिन्न। नेकपा पनि अब न एमाले छ न त माओवादी, अब यौगिक भैसक्यो भनेर भाषण गरेका थिए। अहिले तिनै दल मिलेर कहिले सरकार कहिले प्रतिपक्ष बनेर एक-अर्कालाई आरोप-प्रत्यारोप लगाइरहेका छन। ती आरोप-प्रत्यारोपण कुनै सीमित दलमा मात्र सीमित नभएर सबै दलमा त्यस्तै छ।

आफू खुशी सत्ता स्वार्थ होस् वा पद अनुकुल हुँदा होस् तिमी मेरो म तिम्रो भन्ने तर त्यो बाझिएको दिन अशृंखल शब्द बोल्ने त्यो हाम्रो राजनीतिमा हावी छ। यस मामिलामा हाम्रा राजनीतिक दल मर्यादित हुन सकेका छैनन् । अर्को दलसँग मात्र होइन आफ्नो दलको फरक मत राख्ने गुट-उपगुटबीचको तिक्तता नि निकै चलेको देखिरहेकै छौ। दलहरु सिद्धान्त र विचारमा नभएर ब्यक्तिगत स्वार्थका आधारमा सत्ता समीकरण हुने र बिग्रह हुने गरेको छन । तसर्थ यस्ता कुराले नि आम नागरिकमा निरासजनक भावानाको साथै राजनीतिप्रति वितृष्णा फैलिएको छ। वैकल्पिक शक्तिको धार भनेर उदाएका केही दल झनै सत्ताको मातमा लिप्त छन्। यहि २०७९ सालको स्थानीयदेखि संसदीय राजनीतिमा उदाएका केही युवा पढेलेखेका भनेर आम नागरिकले ठूलो भरोसा विश्वास गरेर ठूलै मत दिए तिनै प्रतिनिधि अहिले जता सत्ता उतै आफू ढल्कने तपाई हामीले देखेकै छौं।

कुनै बेला वैकल्पिक राजनीति भनेर उदाएका विवेकशिल हुँदै विवेकशील साझा पार्टीका अध्यक्ष भएका र लामो समय बेलायत बसेका सञ्चारकर्मी रबिन्द्र मिश्रले न त आफ्नै दल भित्रको टुटफुट मिलाउन सके न त राजनितीमा संस्कार नै बसाउन सके, उनै पुरानो जनताले नरुचाएर फालेको राप्रपामा सम्मलित भए ।त्यस्तै काठमाडौं महानगरका मेयर बालेन साहप्रति आम नागरिक तथा काठमाडौं बासीको निकै आशा र भरोसा थियो । तर उनले काठमाडौंको समस्यालाई यथावत राखेर डोजर लिएर संरचना भत्काउने र भुई मान्छेको रोजिरोटि खोस्ने बाहेक आम नागरिकले देख्ने कुनै उपलब्धि मुलुक परिणाम देखिएको छैन।

त्यसैगरी पछिल्लो समय वैकल्पिक राजनीतिको प्रमुख दल भनेर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी सत्ता स्वार्थमै लिप्त भएको छ । आफूलाई फरक सावित गर्न सकेको छैन। नागरिकताको समबन्धमा सर्वाेच्चमा मुद्दा चलिरहेकै बेला स्वार्थ बाझिने गृह मन्त्रालय सम्हाले तर सर्वाेच्चले पद खोसिदियो। नयाँ नागरिकता लिएकै दिन दोहोरो नागरिकता लिएको विवादास्पद विषय अनुसन्धान भैरहेकै दिन गैर सासद बाटोबाट गृहमन्त्री बन्ने हदै सम्मको प्रयास गरे, आफूले नपाउदा आफ्नो सबै सान्सद सरकारबाट फिर्ता बोलाए । सरकार चलाउने नाममा विधिको शासनलाई व्यवस्था गरिएको छ।

ब्यक्तिगत तथा व्यावसायिकहितसँग जोडिएको ब्याक्तिले स्वार्थ बाझिने मन्त्रालय समहाल्ने जुन लोकतन्त्रको आधार स्तम्भको बर्खिलाप हो। राजनीति जनताको सेवा हो भन्ने भावनाले हेर्नुपर्छ । यहाँ राजनीतिमा लागेको ब्यक्तिले अन्य पेशा व्यवसायमा लागेको भन्दा धेरै कमाउने, अरु भन्दा फरक भड्किलो पाराको हुने यसले के जनाउछ भने राजनीति जन सेवा नभएर पैसा कमाउने व्यवसाय बनाए।

जनता राजनीति प्रक्रियामा समाहित हुन्छ कि हुँदैनन् भन्ने कुरा राजनीतिले निर्धारण गर्छ। तर नेपालमा आम नागरिकले राजनीतिमा ठूलो परिवर्तन आएको महशुस गरे । तर राजनीतिप्रति आकर्षक देखिएको छैन । कारण हो हामीले अझै हाम्रो राजनीतिमा संस्कारको विकास गर्न सकेका छैनौं।