पुन हिललाई अंगाल्दा « Imagekhabar – Online News Portal of Nepal
२० असार २०७९, सोमबार | Mon Jul 4 2022


पुन हिललाई अंगाल्दा


1.573k
Shares


शशी पन्त
फुर्सद हुने बित्तिकै घुमफिर गर्न रुचाउने म कहिले साथीहरूले कुरा निकाल्छन् त कहिले म उक्साउँछु । आखिर इच्छाभन्दा माथि अरु के नै छ र ? विद्यालयमा तेस्रो त्रैमासिक परीक्षाको सुरुवातको दिन भएकोले त्यति धेरै कामको चाप थिएन । जाडोको समय हुनाले आधा शरीर घाममा पर्ने गरी बसेका थियौँ । कुरैकुरामा सानो योजना बनाउन पनि भ्याइहाल्यौँ । योजनामा सहभागी धेरै जना भए पनि आ –आफ्नै बाध्यता र समस्याले गर्दा जानेबेला चाहिँ चारजना मात्र भएका थियौँ । हामीलाई पनि यात्राको तय गर्न त्यति सजिलो त कहाँ थियो र ! चारैजना छोराछोरीका आमा थियौँ । घरबाट निस्केदेखि दैलो नटेकुन्जेलसम्मको सबै तारतम्य मिलाएर जानुपथ्र्याे ।

जाडो बिदामा प्रकृतिसँग नजिक भई प्राकृतिक दृश्यको अवलोकन गरेर अलिकति भएपनि सार्थक जीवन बिताउने योजना थियो । यसरी प्रकृतिमा हराउनु मेरो रुचीको विषय पनि थियो । त्यसैले त हतारहतार सम्पूर्ण कुराको तयारी गरेकी थिएँ ।मन नपरेको कामका लागि बरु एक जुनी नै कुरे हुन्छ, तर मन परेको कामका लागि भने एक मिनेट पनि कुर्नुहुन्न भने झैँ हामी परीक्षा सकिएको भोलिपल्ट सबेरै घरबाट निस्किएका थियौँ ।

हामी चारजना सहकर्मी मित्र अनि हाम्रो साथमा एउटी छोरी पनि थिइन् । पुस महिनाको अन्तिमतिर भएकोले जाडो उत्कर्षमा थियो । चिसो न चिसो हातले पहाडका खस्रा गालाहरु छुँदै मुलायम हुस्सुका बथानहरु दौडिरहेका थिए । यस्तो दिनको यात्राले मेरो मन निकै आनन्दित र रोमाञ्चित बनाउँछ । झ्यालबाहिरको दृश्य नियालिरहन मनपर्छ ।सायद यात्राको खुसीले गर्दा होला हामीलाई जाडो महसुस गर्ने फुर्सद नै थिएन । पोखरासम्म हामी कसैको लागि पनि नयाँ बाटो थिएन । तर हामीलाई देख्नेहरुलाई लाग्थ्यो हामी पहिलोपटक पोखरा जाँदैछौँ ।

हिमालहरुले तालमा ऐना हेर्ने पोखरा । पुसको महिना भएपनि दिउँसोको समय भएर होला त्यति चिसो थिएन । छर्लङ्ग घाम लागिरहेका थिए । वरिपरि हरियो फरिया लगाएर उभिएका थुम्का पहाडहरू अनि बिचमा फिँजारिएको आँचलजस्तै देखिने फेवातालमा नाचिरहेका ती डुङ्गाहरूमा सयर गरी आनन्दको अनुभव गर्‍यौँ ।

पोखरा सहर दिउँसोभन्दा बेलुका अझै हेर्नलायक देखिने हुनाले साँझको त्यो रमणीय क्षणलाई पनि छुटाउन चाहेनौँ । यात्रालाई सकेजति रोमाञ्चक बनाउने हाम्रो चाहना थियो त्यसैले रमाइलो गर्दै त्यो रात पोखरामा नै बस्यौँ ।

पुस २७ गतेको दिन पोखराले आफ्नो आँखा खोल्न नभ्याउँदै हामीले एकतर्फी बाइबाइ गर्दै हाम्रो यात्रालाई अगाडि बढायौँ । । चिसो निकै थियो । डम्म हुस्सु लागेकोले बाटो पनि मुस्किलले देखिन्थ्यो । चिसो फार्नलाई भने काँडेको एक कप चिया नै हाम्रो लागि काफि भएको थियो ।

गाडीको यात्राभन्दा प्रकृतिको समीपमा भएर गरिने पैदलयात्रा निकै रमाइलो लाग्छ मलाई । वनठाँटीसम्म गाडीमा यात्रा गर्न सकिने भए तापनि तिखे ढुङ्गाबाट नै हाम्रो पैदलयात्रा सुरुवात भएको थियो । फोटोका पारखी हामी , मेरो वास्तविक जीवनमा नभई सामाजिक सञ्जालमा मात्र जोडिएका साथीहरूलाई त लाग्छ होला मेरो काम नै मात्र फोटो खिच्ने हो । हामीले हिँड्नेभन्दा बढी समय फोटो खिच्नमा खर्चिन्थ्यौँ । आखिर हामीसँग सम्झनाको लागि रहने यिनै फोटाहरू त हुन् । त्यसैले पनि कुनै नयाँ ठाउँमा गएपछि त अलि बढी नै फोटो खिच्ने गर्छौँ ।

चारैतिर ती पहाडहरू हामीसँग बोल्छन् जस्तै गरी उभिएका थिए । ओहो ! त्यो प्रकृतिको देन । उकालो चढ्दै गर्दा लागेको थकाइ एकैछिन् अडिएर प्रकृतिको अनुपम दृश्यलाई नियाल्नासाथ पुरै बिर्सिन्थ्यौँ । वनठाँटीसम्म गाडी चल्न थालेपछि भने पैदलयात्रीहरू पातलिँदै गएर होला तलतिर भएका अलिअलि पसलहरू पनि प्रायजसो बन्द नै हुनेरहेछन् त्यसैले हामीलाई भोकमा खानेकुरा पाउन पनि मुस्किल परेको थियो । त्यस्तो अवस्थामा भोक मेटाउन वनठाँटीमा खाएको त्यो थुक्पाको स्वाद अझै पनि नमेटिने गरेर जिब्रोमा गडेर बसेको छ ।

घना अनि सुनसान जङ्गलमा पाँचजना आफ्नै तालमा गफ चुट्दै हिँडिरहेका थियौँ तर गफको बिट मार्न भने तीन दिन सम्म पनि सकेनौँ । त्यो समय त्यहाँ जाने उपयुक्त समय नभएर होला बाटोमा मानिसहरु त्यति बाक्लो भेटिदैनथे । चैत वैशाखमा भए पूरै पाखाले लालीगुराँसको पछ्यौरा ओढेको मनमोहक दृश्य देख्न पाइन्थ्यो भन्ने कल्पना गर्दै हिँडिरहेका हामी यो समयमा आउनाले हिउँ खेल्न पाएकोमा झनै प्रफुल्लित थियौँ ।घोरेपानीको एकरात बसाइले त्यहाँको बारेमा धेरै कुरा जान्ने र अवलोकन गर्ने अवसर पायौँ ।

सुनाएका कथा भन्दा सुनाउँछु भन्दै नसुनाएका कथाहरूले बढी आकर्षित गरिदिन्छ मान्छेलाई । त्यस्तै हामीलाई पनि पुगेको भन्दा पनि पुग्नै लागेको ठाउँले निकै आकर्षित गरेको थियो । त्यो थियो हाम्रो यात्राको गन्तव्य पुन हिल ।

सूर्योदयभन्दा अगाडि नै हामीहरू त्यस ठाउँमा पुगेर सूर्योदयको पर्खाइमा थियौँ । हिमालहरू बादलको ब्ल्याङ्केट ओढेर सुतिरहेका थिए । पाखामा हिउँ सेताम्य थियो । चिसो न चिसो हावाले हामीलाई जोडले स्पर्ष गर्दै दौडिरहेको थियो । एकैछिनमा सूर्यले बादलको घुम्टो हटाएर नयाँ बेहुली झैँ बिस्तारै बाहिर निस्कियो । दृश्य अति नै मनमोहक देखिएको थियो हामीलाई त्यस ठाउँमा पुग्नुको सार्थकता मिलेको अनुभूति भएको थियो ।

कहिलेकाहीँ यात्राको क्रममा झेलेका दुःखका घट्ना पनि स्मृतिमा रमाइला र अविष्मरणीय बनिदिन्छन् । बिहानको चार बजेको थियो । सूर्योदय हेर्ने उद्देश्यले हामी टर्च लाइटको सहारामा पुन हिल तर्फ लागेका थियौँ । बाटो हिउँले ढाकेर सेताम्य थियो । सबैजना मस्त निन्द्रामा भएकोले जताततै चकमन्न थियो । बाटोसँग परिचित नभएका हामी थाहै नपाई तातो पानीतर्फ लागेछौँ । केही तल झरेपछि बल्ल मेसो पायौँ । त्यहाँबाट फर्केर माथि उक्लिन निकै सकस भएको थियो त्यतिबेला । तर अहिले भने निकै रमाइलो क्षण बनेर मस्तिष्कमा बसेको छ ।