१४ जेष्ठ २०८१, सोमबार | Mon May 27 2024


स्वर्गै पुगेजस्तो …कपुचे पुग्दा


1.833k
Shares

शशी पन्त
नेपाली परम्परालाई अँगाल्दै यात्राको उद्घाटन हामीले एक कप चिया पिएर गर्‍यौँ । जुन हामीले नारायणगढ–पोखरा सडकखण्डमा पर्ने सानो चिया पसलमा पिएका थियौँ । त्यसपछि हामी चढेको गाडी अगाडि बढ्यो । गाडीको पारदर्शी झ्यालमा हेरेँ, बाहिरको दृश्यहरू तीव्र गतिमा पछाडितिर कुदिरहेको भान भएको थियो ।

यात्रा आफैँमा अविष्मरणीय र रोमाञ्चक अनुभवको पुञ्ज हो । यो यात्राबाट प्रकृतिलाई नजिकबाट चियाउँदै केही नयाँ अनुभव सँगाल्ने मेरो उद्देश्य थियो । ‘नयाँ भ्रमण एक्लै गर । सक्दैनौ आफूलाई माया गर्ने मान्छेसँग गर ।’ भन्ने भनाइ रहेको छ । साँच्चिकै म पनि आफूलाई माया गर्ने अनि मन मिल्ने साथीहरूसँग यात्रा गर्न पाएर निकै प्रफुल्ल थिएँ । मेरा सहकर्मी साथीहरू प्रतीक्षा म्याम र तनुजा म्याम । प्रायजसोः समय हाम्रो सँगै नै बित्ने गर्दछ भने भगवती म्याम केही समय अगाडि मात्र शिक्षण पेसाबाट विश्राम लिए तापनि यस्ता रमाइला यात्रालाई छुट्न दिनुहुन्न, अनि ट्रेकिङमा निकै रूचि भएकी अनुपमा छोरी थिइन् । पोखरासम्म हामी कसैको लागि पनि नयाँ ठाउँ थिएन । काउँखोलादेखि अगाडिको यात्रा भने बिल्कुल नयाँ थियो हामी सबैको लागि ।

घाम डुब्नै लाग्दा हामीहरू सिक्लेस गाउँमा पुग्यौँ । निकै बाक्लो गुरुङ बस्ती रहेछ । पहाडको काखमा चिटिक्क परेका घर, ती घरलाई सुहाउने आकर्षक बगैँचाको दृश्य मेरा लागि यसअघि घुमेका ठाउँभन्दा बिल्कुल अलग संसार थियो । होटलमा पुगेर आँगनको छेउमा बसी सुन्दर दृश्यलाई नियाल्दै एकैछिनमा तातो चियाले आफूलाई ताजा बनायौँ । चिसो ठाउँमा गएपछि आगो बालेर रमाउनुको मज्जा नै बेग्लै । हामी पनि आगो बालेर त्यसको वरिपरि निकै रमायौँ । त्यहाँको विशेष खाना गुन्द्रुकको अचार, ढिँडो अनि त्यसमाथिबाट खन्याइएको त्यो तात्तातो घ्यूको स्वाद अझै पनि जिब्रोमा गडेर बसेको छ ।

जति ढिलो सुते पनि यात्रामा चाँडै नै उठ्ने बानी परेका हामी भोलिपल्ट बिहान सबेरै उठ्यौँ र बिहानको चियाखाजा पश्चात कपुचेको पदयात्रा सुरू गर्‍यौँ। पाहुनालाई निकै सम्मान र सत्कार गर्ने लामा होटलको दाइदिदीले हामीलाई बाटो अप्ठ्यारो छ भन्दै एक एक वटा लठ्ठी तयार पारिदिनुभयो र अलि परसम्म पुर्‍याएर बाटो देखाउँदै शुभयात्रा ! भन्नुभयो । यात्रामा निस्किनुअगाडि कसैले बाटो निकै गाह्रो छ, कसैले ठिकै छ भन्ने आ–आफ्ना अनुभव बताए तापनि हामी आफैँ पुगेर सजिलो अप्ठ्यारोको अनुभूति गर्ने सोचले यात्रा तय गरेका थियौँ ।

पहिलो यात्रामा दिमागभन्दा धेरै आँखा डुल्छ रे ! त्यही भएर होला हाम्रा पनि आँखाहरू वरपर देखिने दृश्यमा केन्द्रित थिए ती सुन्दर दृश्यहरू मोबाइलको क्यामेरामा कैद गरेर कहाँ सम्भव हुन्थ्यो र ! त्यसैले केही मोबाइलको क्यामेरामा कैद गरे पनि अरु सबै चाहिँ हामीले आँखाको क्यामेरामा कैद गरेका थियौँ ।

‘कर्ने भिर’ जुन निकै लामो अनि साँगुरो उकालो थियो । त्यहाँबाट देखिने डाँडापाखा अनि हिमालका दृश्यहरूले केही नयाँ सन्देश दिइरहेजस्तो लाग्थ्यो । ती पहाडमा चढिरहँदा, ‘एउटा यात्रा गर्नु सयौँ पुस्तक पढ्नु बराबर हो ।’ भन्ने भनाइ त्यसै प्रसिद्ध भएको होइन रहेछ भन्ने लाग्यो । बाटो साँघुरो भएकोले हामी पाँचैजना अलि अगाडि पछाडि भएर हिँडेका थियौँ । हुँगु गोठ पुग्नुअगाडि बिचमा न त कुनै होटल थियो न त कुनै चियापसल नै ।

सुनसान बाटो कतै जङ्गल कतै भिर त कतै खोल्साखाल्सी अनि उकालो र ओरालो बराबर । कहीँ त खुट्टा अड्याउन पनि निकै गाह्रो पर्ने । चिसो हुने ठाउँमा घाम प्यारो हुन्छ तर चिसो ठाउँ अनि पुसको महिना भए पनि यहाँको उकालोमा भने घामले बढी नै प्रेम गरिरहेको थियो । हामीले लगाएका लुगाहरू आफैँलाई भारी भइरहेका थिए । छ घण्टाको लगातार पदयात्रापछि दिनको दुई बजे हुँगुगोठमा पुग्यौँ ।

ट्रेकिङको मज्जालाग्दो थकाइ अनि भक्कु भोक । जीवनमा पहिलोपटक त्यति धेरै खाना खाएका थियौँ होला सायद । होटलसम्म सामान ल्याउनको लागि अरू विकल्प नभएको र मानिसले नै बोकेर त्यस्तो अप्ठ्यारो बाटो त्यहाँसम्म पुर्‍याउनुर्ने थाहा पाएपछि भने आफूले टन्न खाएकोमा पनि पश्चाताप भयो ।

सूर्यले डाँडामाथिबाट बिदाइको हात हल्लाउने बेला हामी कपुचे हिमतालको छेउमा पुग्यौँ । तालको नजिकै जङ्गलको बिचमा केही होटलहरू रहेछन् । साना तर चिटिक्क पारेर काठले बनाइएका होटलका कोठाहरू भने खुब न्याना हुने रहेछन् । साँझमा भने आगो ताप्दै दिनभरको यात्राको समीक्षामा मस्त थियौँ हामीहरू । लबिन होटलका भाइ जसले सिक्लेसदेखि झोलामा सामान बोकेर पनि पर्यटकलाई सम्मान र सत्कारले सकेसम्म सन्तुष्ट पार्न खोजिरहेका थिए ।

भोलिपल्ट बिहान सूर्योदयसँगै हाम्रो अन्तिम गन्तव्य कपुचे हिमतालको सुन्दर दृश्य नियाल्न पुग्यौँ । २४५० मिटर उचाइमा अवस्थित हिमतालमा वरिपरि रहेका बोटबिरूवा, अग्ला पहाड अनि सेता हिमालहरूले आफूलाई ऐनामा हेरेर लजाउँदै मुस्कुराए जस्ता देखिन्थे ।

साँच्चिकै त्यहाँ पुगेपछि भने स्वर्गको एकटुक्रा यहाँ खसेको रहेछ भन्ने भान भयो । अघाउन्जेल छेउमा बसेर नियाल्यौँ ती मनमोहक दृश्यहरूलाई । प्रदूषणले छुन नसकेको वातावरण अनि हिमतालको मनै लोभ्याउने त्यो अनुपम दृश्य कहिल्यै नमेटिने गरेर यी आँखामा कैद भएर बसेका छन् ।