५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


शेयर बजारमा ५२ अंकको वृद्धि


299
Shares

काठमाडौं । पछिल्ला तीन दिनदेखि सामान्य अंकले बढ्दै आएको शेयर बजार बुधबार भने उच्च अंकले बढेको छ ।

बजार परिसूचक नेप्से बुधबार ५२ दशमलव ३६ अंक बढेर २६६५ दशमलव ४५ को विन्दुमा पुगेको छ ।

बजार बढेसँगै बुधबार कारोबार रकम पनि उल्लेख्य मात्रामा बढेको छ । नेप्सेमा रहेका १३ वटै उपसमूहको परिसूचक बढ्दा अन्य उपसमूहको परिसूचक सर्वाधिक ४ दशमलव २४ प्रतिशतले बढेको छ । यस्तै लगानी उपसमूहको परिसूचक करिब ४ प्रतिशत बढेको छ भने विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतले बढेका छन् ।

बैंकिङ्ग, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेका छन् । बुधबार कर्पोरेट डेभलपमेन्ट बैंक र दोल्ती पावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । तर बाराही हाइड्रो पावरको शेयर मूल्य भने सर्वाधिक ८ दशमलव २१ प्रतिशतले घटेको छ । बुधबार ३२२ वटा स्टकको एक करोड ७६ लाख कित्ता शेयर ९ अर्ब २० करोड ३० लाख ८८ हजार रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ ।

कारोबार रकमका आधारमा बुधबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सर्वाधिक ६१ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।