नरेन्द्र महतारा, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन सम्पन्न भएको एक महिना बितिसक्दा पनि पार्टीले पूर्णता पाउन सकेको छैन ।
पार्टी पदाधिकारी तथा केन्द्रीय समितिले पूर्णता नपाउँदा पार्टीका गतिविधि चलायमान हुन सकिरहेको छैन । पार्टी विधानअनुसार मनोनयन गर्नुपर्ने पदाधिकारी र केन्द्रीय सदस्यको टुंगो लाग्न नसक्दा संगठनात्मक गतिविधिसमेत प्रभावित भएका छन् ।
रास्वपाको पहिलो महाधिवेशनपछि पार्टीका संगठनलाई नयाँ गति दिने अपेक्षा गरिएको थियो । महाधिवेशनमा नै भद्रगोल अवस्था आएपछि त्यसको प्रभाव अहिले देखिन थालेको छ । महाधिवेशन सकिएको एक महिनाभन्दा बढी समय बित्दापनि पार्टी संगठनले पूर्णता पाउन सकेको छैन । नेतृत्व चयनको बाँकी प्रक्रिया टुंगिन नसक्दा रास्वपाको संगठनात्मक गतिविधि अपेक्षित रूपमा अघि बढ्न सकेको छैन ।
महाधिवेशनबाट निर्वाचित नेतृत्वले पार्टी संरचनालाई पूर्णता दिने प्रक्रिया अघि नबढाउँदा संगठनभित्र अन्योलको अवस्था छ । पार्टी विधानअनुसार मनोनयनमार्फत समावेश गर्नुपर्ने पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको टुंगो लाग्न नसक्दा प्रक्रिया लम्बिएको छ ।
पार्टीभित्र आकांक्षीहरु धेरै भएकाले समस्या भएको भनिएपनि प्रधानमन्त्री बालेन्द्र शाह पक्षले मनोनयन गर्नुपर्ने नेताहरूको नाम उपलब्ध नगराएपछि पदाधिकारी चयनको काम रोकिएको छ । यसले पार्टीभित्र दुई पक्षबीच आवश्यक सहमति कायम हुन नसकेको संकेत पनि गरेको छ ।









प्रतिक्रिया दिनुहोस्