काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलहरु चाँडै सञ्चालनमा आउने बताउनुभएको छ ।
शुक्रबार पोखरामा सुनौलो नेपालको गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान कार्यक्रममा बोल्दै पर्यटनमन्त्री पाण्डेले बताउनुभएको हो ।
पर्यटनमन्त्री पाण्डेले सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सम्पूर्ण रुपमा प्रयास गरिरहेको बताउनुभयो । उहाँले पोखरामा निजी क्षेत्रले लगानी गर्ने वातावरण बनाउनासाथ विमानस्थल सञ्चालनमा आउने देखिएकाले लगानीको वातावरण बनाउने प्रयासमा सरकार रहेको बताउनुभयो ।
पर्यटनमन्त्री पाण्डेले सरकारले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि मन्त्रिपरिषद्बाट उडान कम्पनीहरुलाई सहुलियतको घोषणा गरेको बताउनुभयो । उहाँले उक्त सहुलियत कार्यान्वयनमा रहेको भन्दै केही ढिलाई भएको विषयमा सरकार सचेत रहेको बताउनुभयो ।
पर्यटनमन्त्री पाण्डेले सरकारले बनाएको कार्ययोजनाअनुसार कुन मन्त्रालयले कति काम ग¥यो रु भनेर प्रधानमन्त्रीको तहमा मूल्याङ्क गर्ने तयारीमा रहेको बताउनुभयो । उहाँले भारतका विभिन्न प्रान्तहरुमा पोखराबाट उडानको लागि प्रयासहरु जारी रहेको पनि जानकारी दिनुभयो ।
पर्यटनमन्त्री पाण्डेले चिनियाँ पक्षसँग पनि बारम्बार छलफल भइरहेको भन्दै चाँडै हिमालय एयरलाइन्सलाई चीनको लाशामा उडानको लागि अनुमति दिने तयारी रहेको बताउनुभयो । उहाँले सरकारले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न आग्रह गरिएको बताउनुभयो । उहाँले अन्य ठाउँको उडान कटौती गरेर नेपाल एयरलाइन्सले कुनै एउटा देशको उडान गर्न आग्रह गरेको र बुद्ध एयरलाइन्सले पनि आफैँ गर्ने प्रयास गरिरहेको बताउनुभयो । उहाँले विमानस्थल चलेन भनेर धेरै निराश हुने अवस्था नभएको बताउनुभयो । उहाँले सरकारले दुवै विमानस्थल चलाएर छोड्ने प्रतिवद्धता जनाउनुभयो ।
पर्यटनमन्त्री पाण्डेले गण्डकीको पर्यटन माथि उठ्दा मात्रै सिंगो नेपाललाई पर्यटनबाट लाभ लिने वातावरण बनाउने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्