काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले किसानलाई धान नकाट्न आग्रह गरेको छ ।
देशका विभिन्न भागमा जारी अविरल वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि जल तथा मौसम विज्ञान विभागले विशेष शतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको हो ।
विभागका मौसमविद् रोजन लामिछानेले मौसममा सुधार नआएसम्म किसानलाई धान नकाट्न र नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च शतर्कता अपनाउन सुझाव दिनुभयो ।
मौसमविद् लामिछानेले हालको प्रतिकूल मौसममा हतार गर्दा बाली र जनधनको क्षति हुनसक्ने भएकाले मौसम खुलेपछि मात्र धान काट्ने योजना बनाउन किसानलाई आग्रह गर्नुभएकाे छ । उहाँले विशेष गरी जमिन चिरा परेको वा सानो पहिरो देखिएको क्षेत्रमा जोखिम उच्च हुने भन्दै त्यस्ता स्थानका बासिन्दालाई तुरुन्त सुरक्षित स्थानमा सर्न र छिमेकीलाई समेत सचेत गराउन अनुरोध गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘ कसान सर्वसाधारणहरूले धान नकाट्नुहोला । मौसमको अवस्था बुझेर मात्र आगामी दिनमा मौसम खुलेपछि त्यसको योजना बनाउनुहोला । अहिले नेपालको पूर्वी भूभागबाट चाहिँ विस्तारै अलि क्रमिक रूपमा सुधार हुँदै गइरहेको अवस्था छ । र केही ठाउँहरूमा मात्र हल्कादेखि मध्यम पानी परेको छ भने पश्चिमी भूभागहरूमा भोलि दिउँसोसम्मको लागि यसको प्रभाव देखिन्छ । त्यो क्षेत्रमा बढी प्रभाव हुने अवस्था भएको हुनाले सबैले सावधानी र सतर्कता अपनाउनुपर्ने देखिन्छ । विशेषगरी पश्चिमी क्षेत्रहरूमा लगातार यी ३–४ दिनदेखि परिरहेको पानी अझ थप पानी पर्न सक्ने सम्भावना भोलिसम्मको लागि रहेको हुनाले त्यो क्षेत्रहरू बढी जोखिम हुनेछ ।’
यस्तै, नदी तथा खोला किनारमा बसोवास गर्ने समुदायलाई जलसतह बढ्दा थप सजग रहन भनिएको छ । स्थानीय प्रशासन र प्रहरीले गर्ने माइकिङ तथा साइरनलाई बेवास्ता नगर्न विभागले जोड दिएको छ । विपद्को समयमा सूचनाको पहुँच महत्वपूर्ण हुने भएकाले सर्वसाधारणलाई मौसमसम्बन्धी पछिल्लो अपडेट नियमित रूपमा हेर्न र कुनैपनि जिज्ञासा वा सूचनाका लागि विभागको टोल फ्री नम्बर ११५५ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्