काठमाडाैं । नेपालीकाे पूर्वी क्षेत्रमा मौसम क्रमशः सुधार हुँदै गएपनि पश्चिम नेपालतर्फ भने प्रभाव कायमै रहेको छ ।
मौसम विज्ञान विभागकाअनुसार आईतवारसम्म पश्चिम नेपालमा भारी वर्षाको सम्भावना कायम नै रहेको छ ।
पश्चिमी भूभागतर्फ भारी वर्षाको सम्भावना रहेकाले मौसमविद्ले सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेका छन् । नेपाल मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेकाअनुसार पछिल्लो समय गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।
पछिल्लो २४ घण्टामा ती प्रदेशका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको उहाँले बताउनु भयो । वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा तराई र खोँच क्षेत्रमा बाढीको जोखिम बढेको छ । भारतको उत्तर प्रदेश तथा आसपासमा रहेको न्युन चापीय प्रणाली विस्तारै नेपालतर्फ सर्दै गएको उहाँले बताउनुभयो ।
यसको प्रभाव विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बढी पर्ने उहाँको भनाई छ । उहाँकाअनुसार आईतवार दिउँसोसम्म वागमतीको पश्चिमी भूभाग, मधेशको पश्चिमी भू–भाग तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । केही स्थानमा भारी वर्षा हुनसक्ने उहाँले बताउनु भयो । पूर्वी नेपालतर्फ भने मौसम क्रमशः सुधार हुँदै गएको उहाँको भनाई छ ।
केही स्थानमा भने हल्कादेखि मध्यम वर्षा हुने उहाँले बताउनु भयो । लगातारको वर्षाका कारण कमजोर पहाडी क्षेत्रमा पहिरोको जोखिम उच्च रहेकोले अनावश्यक यात्रा नगर्न उहाँले आग्रह गर्नुभयो । अत्यावश्यक यात्रा गर्नुपरेमा प्रहरीसँग सम्पर्क गरी बाटोको अवस्था बुझेर मात्र यात्रा गर्न उहाँको सुझाव छ ।
उहाँले भन्नुभयो, ‘अहिले न्युन चापीय प्रणाली भारतको उत्तर प्रदेश र आसपासको क्षेत्रहरूतिर अवस्थित रहेको छ । त्यो विस्तारै नेपालको नजिक नजिक आउने, तर कमजोर रूपमा आउने भएतापनि पश्चिमी भूभागहरू गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको क्षेत्रहरूमा यसले प्रभाव बढी पार्ने देखिन्छ । भोलि दिउँसोसम्मको लागि यसको प्रभाव बागमतीदेखि पश्चिमको भूभागहरू, बागमती प्रदेशको पनि पश्चिमी भूभागहरू, मधेस प्रदेशको पनि पश्चिमी भूभागहरू र गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशको सबैजसो भूभागहरूमा यसको प्रभाव देखिनेछ ।
धेरैजसो ठाउँमा मध्यम वर्षा र केही ठाउँहरूमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । विगतमा भएको वर्षा र अब हुने वर्षाको कारणले पहाडी भूभागहरू, कमजोर पहाडी क्षेत्रहरूमा पहिरोको जोखिम एकदमै धेरै रहेको छ । सडक यातायातमा पनि यसले प्रभाव पार्ने अवस्था देखिन्छ । त्यो कारणले गर्दाखेरि सर्वसाधारणहरूले भोलिसम्मको लागि यात्राको योजना नबनाउनु होला । यदि अति आवश्यक अवस्था छ भने प्रहरीसँग सम्पर्कमा रहेर बाटोको अवस्था कस्तो छ, बुझेर मात्र यात्रा गर्नुहोला । किसान सर्वसाधारणहरूले धान नकाट्नुहोला । मौसमको अवस्था बुझेर मात्र आगामी दिनमा मौसम खुलेपछि त्यसको योजना बनाउनुहोला ।
अहिले नेपालको पूर्वी भूभागबाट चाहीँ विस्तारै अलि क्रमिक रूपमा सुधार हुँदै गइरहेको अवस्था छ । र केही ठाउँहरूमा मात्र हल्कादेखि मध्यम पानी परेको छ भने पश्चिमी भूभागहरूमा भोलि दिउँसोसम्मको लागि यसको प्रभाव देखिन्छ । त्यो क्षेत्रमा बढी प्रभाव हुने अवस्था भएको हुनाले सबैले सावधानी र सतर्कता अपनाउनुपर्ने देखिन्छ ।
विशेषगरी पश्चिमी क्षेत्रहरूमा लगातार यी ३–४ दिनदेखि परिरहेको पानी अझ थप पानी पर्न सक्ने सम्भावना भोलिसम्मको लागि रहेको हुनाले त्यो क्षेत्रहरू बढी जोखिम हुनेछ । पर्सी सोमबारबाट चाहीँ देशभरिनै मौसम सुधार हुने देखिन्छ । त्यसपछाडि आफ्नो कार्यहरू गर्ने योजना बनाउने हुन अनुरोध गर्दछु ।’
लामिछानेकाअनुसार सोमवारदेखि भने देशभर मौसममा सुधार आउने सम्भावना छ । त्यसपछि मात्रै नियमित काम तथा कृषि गतिविधिको योजना बनाउन उहाँले आग्रह गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्