Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै


0
Shares

काठमाडाैं । दुई दिनदेखिको अविरल वर्षाका कारण जनजीवन कष्टकर बनेको काठमाडौं उपत्यकाको मौसममा शनिवार बिहानदेखि सुधार आएको छ ।

वर्षा रोकिएर आकाश खुल्न थालेपछि ठप्पप्रायः रहेको उपत्यकाको चहलपहल पुनः सामान्य अवस्थामा फर्किन थालेको हो । बिहीवार र शुक्रवार मुलुकभरजसो परेको भारी वर्षाले काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा जनजीवन नराम्ररी प्रभावित पारेको थियो ।

निरन्तरको वर्षाका कारण सडक आवतजावत, दैनिक कामकाज र व्यापार–व्यवसायमा समेत सुस्तता देखिएको थियो । शनिवार बिहानैदेखि वर्षाको क्रम रोकिएर घाम लाग्न थालेपछि जनजीवनमा केही सहजता महशुस गरिएको छ । यद्यपि, मौसम अझै पूर्णरूपमा स्थिर भइसकेको छैन । जल तथा मौसम विज्ञान विभागले मौसममा सुधार देखिए पनि पूर्ण रूपमा ढुक्क हुने अवस्था नरहेको जनाएको छ ।

विभागकाअनुसार केही स्थानमा अझै पनि छिटपुट वर्षा हुने सम्भावना कायमै रहेको छ । विभागले पछिल्लो दुई दिनको वर्षाका कारण जमिन गलिसकेको र नदीनालाको बहावमा केही परिवर्तन हुनसक्ने भन्दै विशेष शतर्कता अपनाउन स्थानीयवासीलाई आग्रह गरेको छ । विशेषगरी नदी तटीय क्षेत्रका बासिन्दा र पहिरोको उच्च जोखिम भएका स्थानमा बसोवास गर्नेहरूलाई सावधानी अपनाउन भनिएको छ ।

आगामी केही दिनसम्म मौसम पूर्वानुमान महाशाखाको सूचनालाई आधार मानेर दैनिक गतिविधि गर्न विभागले अनुरोध गरेको छ । पूर्वबाट क्रमशः वर्षा गराउने मौसम पश्चिमतिर सरेकाले पश्चिम क्षेत्रमा शतर्कता अपनाउन आग्रह गरेको छ ।

Skip This