काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाल एयरलाइन्सलाई सुधार गरेरै छोड्ने प्रतिवद्धता जनाउनुभएको छ ।
बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले अब नेपाल एयरलाइन्सलाई नसुधारीकन विश्राम नलिने बताउनुभयो । नेपाल एयरलाइन्सलाई सुधार गर्नका लागि समिति, सांसद, सरकार सबैले संकल्प लिन जरुरी रहेको बताउनुभयो ।
मन्त्री पाण्डेले समस्याको पहिचान गरेर सुधार गर्नु अपरिहार्य रहेको बताउनुभयो । उहाँले क्यान र नेपाल एयरलाइन्सबीचको सम्बन्ध सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले नेपाल वायुसेवा निगम र नेपाल एयरलाइन्स सेवाप्रदायक संस्था भएकाले एकअर्कामा समन्वय र सहकार्य हुन जरुरी रहेको बताउनुभयो । उहाँले सहकार्य हार्दिकता बिना प्रतिफल नमिल्ने बताउनुभयो ।
मन्त्री पाण्डेले नागरिक उड्डयन क्षेत्रको स्कोप कहिल्यै नघट्ने दाबी गर्नुभयो । वायुसेवा निगमले सेवा दिनसके यात्रुको कमी नहुने बताउनुभयो । विमानस्थल बढेसँगै एयरक्राफ्टको संख्या पनि बढेको खण्डमा वायुसेवालाई निकै सुदृढ गर्न सकिने बताउनुभयो । नेपालका कतिपय पहाडी क्षेत्रमा (कर्णाली, कोशी र गण्डकी)मा ठूलो जहाजहरु उड्ने विमानस्थल बनाउन जरुरी रहेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्