६ माघ २०८१, आइतबार | Sun Jan 19 2025


वायुसेवा निगम सुधारका लागि तत्काल नयाँ कदम चाल्न सरकारलाई सांसदहरुको सुझाव


91
Shares

काठमाडौं । नेपाल वायुसेवा निगमलाई व्यवस्थित र बलियो बनाउनको लागि सरकारले तत्काल नयाँ कदम चाल्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति बैठकमा बोल्दै अधिकांश सांसदहरुले यस्तो सुझाव दिएका हुन् । सांसदहरुले निगममा सधैं पुरानै समस्याहरु देखाएर सुधारबाट पछाडि हट्न नहुने बताए ।

उनीहरुले सरकारले निगमलाई सुधार गरी बलियो बनाउनको लागि निगमको सम्पूर्ण व्यवस्थापन प्रणालीमा सुधार गर्नुपर्ने बेला भएको बताए । सांसदहरुले निगम सञ्चालन भएको लामो इतिहास हेर्दा पनि मुनाफामा गएको नदेखिएको धारणा राखे । सरकारले अहिलेकै प्रणालीमा केही वर्ष चल्ने की थप निगमलाई बिग्रन दिने विषयमा तत्काल कदम चल्न जरुरी रहेको सांसदहरुको सुझाव छ ।

नेपाली कांग्रेसका सांसद उदयसमशेर जबराले वायुसेवा निगम सुधारको लागि सरकारले ठोस निर्णय गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले तत्काल ठोस निर्णय नगरे निगमको आम्दानीमा समेत झन बिग्रदै जाने अवस्था देखिएको बताउनुभयो । सांसद जबराले निगम अहिलेकै अवस्थामा चल्न दिने हो भने भविष्यमा निगमका सबै जहाज ग्राउण्डेट हुने अवस्था देखिएको जिकिर गर्नुभयो । उहाँले निगम सुधारको लागि सरकारसँग लामो समय नभएको बताउनुभयो । उहाँले सरकार निगममा साना–साना काम नभएको भन्दै ३० औं वर्ष अड्किएकाले सम्पूर्ण व्यवस्थापन प्रणालीमा परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले व्यवस्थापकीय क्षमता कमजोर भएकाले निगमको अवस्था दयनीय भएको बताउनुभयो । उहाँले नेपाल वायुसेवा निगमको वर्तमान व्यस्थापनको व्यवस्थापकीय क्षमता कमजोर देखिएको बताउनुभयो । उहाँले नेपाल वायुसेवा निमगको सुधार गर्न ढिला भएकाले सरकारले तत्काल ठोस निर्णय गर्न आवश्यक रहेको बताउनुभयो ।

सांसद आचार्यले निगम सञ्चालनमा कम्पनी मोडलमा जाने लगायतका विषयहरु उठान भएकाले तत्काल कम्पनीमा जान नहुने बताउनुभयो । उहाँले निगमलाई कम्पनीमा लैजान खोज्नु गलत भएको बताउनुभयो । निगमलाई निजीकरण पनि गर्न नहुने विगतका सरकारी उद्योगहरु निजीकरण भएको उदाहरण देखिएको बताउनुभयो । उहाँले सरकारले व्यवस्थापन गर्न ढिला गर्न नहुने बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले वर्तमान सरकारले वायुसेवा निगम सुधारको लागि कठोर निर्णय गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले वायुसेवा निगम रुपान्तरणको बोटो जानुपर्ने बताउनुभयो । उहाँले निगममा १८ सय बढी कर्मचारी आवश्यक नभएको बताउनुभयो । उहाँले मन्त्रीहरुको कारण निगमले कर्मचारीको भार कति भोग्नुपरेको छ भन्ने विषयमा अध्यक्षले जानकारी दिनुपर्ने बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद डा. धवलसमशेर जबराले निगमलाई बलियो बनाउनको लागि जहाज वृद्धि गर्नुपर्ने बताउनुभयो । उहाँले चार वटा विमानले समग्र मुलुकको पर्यटन क्षेत्रलाई असर पारेको बताउनुभयो । उहाँले दुई वर्षदेखि विमान थप गर्ने भनिए पनि अहिलेसम्म किन खरिद गर्न नसकेको ? भन्दै प्रश्न गर्नुभयो ।

सांसद जबराले विनियमावली सुधार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले निगमको व्यवस्थापनले विनियमावलीलाई देखाएर काम गर्न नखोजेको देखिएको बताउनुभयो । उहाँले निगम व्यवस्थापनको विषयमा पनि सरकारले विचार गर्न आवश्यक देखिएको बताउनुभयो । उहाँले निगमको व्यवस्थापन नयाँ ढङ्गमा नगएसम्म सुधार हुने अवस्था नदेखिएको भन्दै सरकारले तत्काल नयाँ कदम चाल्न सुझाव दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सांसद हितबहादुर तामाङले वायुसेवा निगमको वर्तमान नेतृत्वबाट निगम सुधारको अपेक्षा गर्न नसकिने बताउनुभयो । उहाँले जहाज मर्मतदेखि अन्य विषयमा समेत वर्तमान नेतृत्वको असक्षमता देखिएको बताउनुभयो । उहाँले जहाजको सि चेक गर्न समेत समयमा नसक्ने नेतृत्व आवश्यक नभएको बताउनुभयो । उहाँले निगमको नेतृत्वको नियमनकारी निकायसँग राम्रो सम्बन्ध नहुँदा पनि समयमा काम नभएकोे बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद देवीप्रकाश भट्टचनले सरकारले तत्काल ठोस निर्णय गरे मात्रै निगम बच्नसक्ने धारणा राख्नुभयो । उहाँले सरकारले निगम सुधारको लागि लिने निर्णय ढिलो ग¥यो भने निगम बचाउन गाह्रो हुने बताउनुभयो । उहाँले निगमको १ सय अर्बको सम्पतीमा ५२ अर्ब ऋण रहेकाले विदेशी कम्पनी निगममा लगानी गर्न नआउने बताउनुभयो ।

उहाँले विदेशी कम्पनीको लगानी ल्याउने भन्नु समय बिताउने खेल मात्रै हुने बताउनुभयो । उहाँले स्वदेशी लगानीकर्ताले लगानी गर्नसक्ने सम्भवाना रहेको भन्दै ऋणलाई इक्विटीमा परिणत गर्नसक्ने अवस्था रहेको बताउनुभयो ।