Logo १९ कार्तिक २०८३, बिहिबार | Thu, Nov 5, 2026


जाडोयाममा वायु प्रदूषणको जोखिम बढ्ने, प्लास्टिकजन्य फोहोर नजलाउन महानगरको आग्रह


0
Shares

काठमाडौं । जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणको जोखिम बढ्न सक्ने भन्दै काठमाडौं महानगरपालिकाले प्लास्टिकजन्य फोहोर खुला स्थानमा नजलाउन आग्रह गरेको छ ।

सवारीसाधनबाट निस्कने धुवाँ, सडक तथा निर्माणस्थलबाट उड्ने धुलो, उद्योग कलकारखानाबाट निस्कने धुवाँधुलो र खुला रूपमा फोहोर जलाउँदा वायु प्रदूषण बढ्ने गरेको छ । यस्ता गतिविधिले वातावरणसँगै मानव स्वास्थ्यमा समेत नकारात्मक असर पार्ने भएकाले नियन्त्रणका उपाय अपनाउन आवश्यक रहेको छ ।

वायु प्रदूषणको प्रत्यक्ष असर विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, दम तथा खोकीका बिरामी र दीर्घरोगीमा बढी पर्ने जोखिम हुन्छ । त्यसैले प्रदूषण बढाउने गतिविधि नगर्न तथा वातावरण स्वच्छ राख्न महानगरले सर्वसाधारणलाई सचेत गराएको छ ।

प्रदूषण न्यूनीकरणका लागि सवारीसाधनलाई निर्धारित मापदण्डअनुसार सञ्चालन गर्नुपर्नेछ । नियमित मर्मतसम्भार गरी सवारीसाधनबाट निस्कने धुवाँ कम गर्ने, निर्माण सामग्री सडक तथा फुटपाथमा थुपार्न नहुने र उद्योग कलकारखानाबाट हुने उत्सर्जन नियन्त्रण गर्नुपर्नेमा जोड दिइएको छ ।

त्यस्तै, उद्योग, कलकारखाना तथा अस्पतालले काठमाडौं महानगरपालिकाको प्रदूषण नियन्त्रण मापदण्ड, २०८१ अनुसार वायुको गुणस्तर र धुवाँ उत्सर्जनसम्बन्धी व्यवस्था पालना गर्नुपर्नेछ । उद्योगहरूमा वायु प्रदूषण नियन्त्रण गर्ने उपकरणको प्रयोगसमेत गर्नुपर्नेछ ।

Skip This