Logo १९ कार्तिक २०८३, बिहिबार | Thu, Nov 5, 2026


कांग्रेस सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई साइबर ब्युरोले बोलायो


1.9k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले सम्पर्क गरी उपस्थित हुन बोलाएको छ । धार्मिक यात्राका क्रममा काठमाडौं बाहिर रहेका शिवाकोटीलाई फोनमार्फत ब्युरोमा आउन भनिएको कांग्रेस मिडिया सेन्टरले जनाएको छ ।

ब्युरोको सम्पर्कपछि शिवाकोटीले आफू काठमाडौं फर्किएर उपस्थित हुने प्रतिक्रिया दिएका छन् । प्रहरीमार्फत खोजी गर्नुपर्ने अवस्था नरहेको उल्लेख गर्दै आफू काठमाडौं आउँदै गरेको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

बिहीबार बिहान फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले सरकारको दबाब र भ्रमबाट आफू विचलित नहुने बताएका छन् । साथै, प्रहरी लगाएर खोज्नुपर्ने आवश्यकता नरहेको उनको भनाइ छ ।

पछिल्लो केही दिनयता शिवाकोटीले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत विभिन्न टिप्पणी गर्दै आएका छन् । सरकारले विधि र विधानविपरीत काम गरिरहेको तथा नेपाली कांग्रेसलाई अनावश्यक विवादमा तान्न खोजेको उनको आरोप छ ।

Skip This