६ माघ २०८१, आइतबार | Mon Jan 20 2025


शैक्षिक कार्यक्रम उद्यम क्षेत्र र बजारका आवश्यकताहरुसँग मेल खाने बन्न सकेनन् : शिक्षामन्त्री


0
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शैक्षिक कार्यक्रमहरु उद्यम क्षेत्र र बजारका आवश्यकताहरुसँग मेल खाने बन्न नसकेको गुनासो गर्नुभएको छ ।

शनिबार त्रिभुवन विश्वविद्यालयद्वारा दरशथ रंगशालामा आयोजित ५० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै शिक्षामन्त्री भट्टराईले यस्तो बताउनुभएको हो ।

शिक्षामन्त्री भट्टराईले भौतिक पूर्वाधारको सिमितता, जनशक्तिको व्यवस्थापनमा सहजता नहुनु, अपर्याप्त पुस्तकालय, प्रयोगशाला र विद्यार्थीको मागअनुसार पाठ्यक्रम र विषयहरुलाई प्राथमिकिकरण गर्न नसक्नु जस्ता विषयहरु विश्वविद्यालयको विकासका लागि बाधक बनेको बताउनुभयो । उहाँले विश्वविद्यालयले ज्ञान, आविष्कार र विकासलाई योगदान दिनका लागि अनुसन्धान केन्द्रहरुमार्फत अनुसन्धानका कामहरु गरिरहेको बताउनुभयो ।

शिक्षामन्त्री भट्टराईले विश्वविद्यालयसँग थुप्रै उपलब्धिहरु हुँदाहुँदै पनि केही चुनौतिहरु रहेको र त्यसको सामना गरी समाधानका व्यवहारिक प्रयत्नहरु गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले उपाधि हाँसिल गरेपनि विद्यार्थीले देशभित्र अवसर प्राप्त गर्न नसकिरहेको भन्दै विदेशलाई पहिलो रोजाई बनाउँदै पढाइ र रोजगारीका लागि विदेशिने प्रवृत्ति राष्ट्रिय चासोको विषय बनेको बताउनुभयो ।

शिक्षामन्त्री भट्टराईले विश्वविद्यालयका चुनौतिहरु समयमै सुधार गर्नुपर्ने बताउनुभयो । चुनौतिका रुपमा देखापरेका विषयलाई सुधार गर्नसकेमात्रै विश्वविद्यालयको उचाईलाई जीवित राख्नसक्ने बताउनुभयो । शैक्षिक कार्यक्रमहरु रोजगार क्षेत्र र बजारको मागअनुरुप सान्दर्भिक बनाउने सुनिश्चितता गर्न सक्नुपर्ने बताउनुभयो ।