Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूमाथि सरकारकाे निगरानी

राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न निर्देशन

598
Shares

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको विषयमा निगरानी गरेकाे छ।

मन्त्रालयको विद्यालय शिक्षा शाखाले मंगलबार एक निर्देशन जारी गर्दै कानून अनुसार आवश्यक कारबाही गर्न ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको हाे। जारी निर्देशनमा बैतडी, बाग्लुङ, सिन्धुली, सिन्धुपाल्चोक, मुगु, रौतहट र सल्यान लगायत जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको समाचार सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट सार्वजनिक भइरहेको उल्लेख गरिएको हाे ।

मन्त्रालयले शिक्षकहरूको यस्तो गतिविधि शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (१) को खण्ड (ग) विपरीत हुने जनाएको छ । निर्देशनमा त्यस्ता गतिविधिकाे बारेमा थप खोजबिन तथा निगरानी गर्न र सम्बन्धित स्थानीय तहसँग समन्वय गरी आचारसंहिता उल्लङ्घन गर्ने शिक्षकलाई नियम १३७ को खण्ड (ग) तथा नियम १४३ बमोजिम आवश्यक कारबाहीको व्यवस्था गर्न भनिएको हाे।

मन्त्रालयका उपसचिव लिलानाथ पोखेलद्वारा हस्ताक्षरित पत्रमा उक्त निर्देशन मन्त्रालयको यहि असोज ६ गतेको निर्णय अनुसार जारी गरिएको उल्लेख गरिएकाे छ । निर्देशनको बोधार्थ शिक्षा विभागलाई समेत दिएको हाे ।