९ माघ २०८१, बुधबार | Wed Jan 22 2025


विद्यालय, विद्यार्थी र शिक्षकबीचको अनुपात मिलेको छैन : शिक्षामन्त्री भट्टराई


429
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय, विद्यार्थी र शिक्षकबीचको अनुपात नमिलेको भन्दै दरबन्दी पुनरावलोकन गर्न मन्त्रालयले कार्यदल गठन गरेको बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक, २०८० माथिको छलफलमा सांसदहरुले राखेका जिज्ञासाहरुको जवाफ दिँदै मन्त्री भट्टराईले यस्तो बताउनुभएको हो ।

मन्त्री भट्टराईले विद्यालय शिक्षाको दरबन्दी पुनरावलोकन गर्न मन्त्रालयले गठन गरेको कार्यदलले काम सुरु गरिसकेको बताउनुभयो । उहाँले प्राविधिक तथा व्यवसायिक शिक्षाको आजको आवश्यकता र विगतको अभ्यासका आधारमा पाठ्यक्रम पुनःसंरचना गर्न जरुरी रहेको बताउनुभयो ।

प्राविधिक तथा व्यवसायिक शिक्षाको पाठ्यक्रम पुनःसंचना गर्न समेत योजना आयोगका सदस्यको संयोजकत्वमा कार्यदल गठन भएको बताउनुभयो । कार्यदलले १५ दिनपछि प्रतिवेदन बुझाउने र प्रतिवेदनको आधारमा मन्त्रालयले थप प्रक्रियाहरु अगाडि बढाउने उहाँको भनाइ छ । विद्यालय शिक्षा विधेयकलाई छिटोभन्दा छिटो समितिबाट पारित गर्नुपर्नेमा उहाँको जोड छ ।

मन्त्री भट्टराईले विधेयकमा भएका विवादका विषयहरुको समाधान खोज्न राजनीतिक सहमतिका आधारमा अघि बढ्नुपर्ने बताउनुभयो ।