काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले राष्ट्रिय निकुञ्जहरुको अवलोकन भ्रमणका क्रममा देखिएका समस्या र समाधानका उपायसहित सरकारलाई सुझाव प्रतिवेदन बुझाउने भएको छ ।
बुधबार सिंहदरबारमा बसेको बैठकमा समिति सभापति मायाप्रशाद शर्माले हालै अवलोकन भ्रमणका क्रममा निकुञ्जहरुमा देखिएका समस्याहरुलाई समेटेर ऐन र नियमावली बनाउने गरी सुझावको रुपमा सरकरलाई प्रतिवेदन बुझाउने बताउनुभएको हो ।
सभापति शर्माले अवलोकन भ्रमणका क्रममा देखिएका समस्याहरु र समाधानका उपायहरु समितिले औंल्याइदिने उल्लेख गर्दै त्यसको कार्यान्वयन गर्ने दायित्व राज्यको भएको बताउनुभयो । समितिले भ्रमणका क्रमम अधिकांश निकुञ्जहरुमा सडकको समस्या रहेको पाइएको उहाँको भनाइ छ ।
राष्ट्रिय निकुञ्जहरुको संरक्षण र व्यवस्थापनका लागि सरकारलाई आवश्यक सुझाव दिने सभापति शर्माको भनाइ छ ।
बैठकमा राष्ट्रिय सभा सदस्य रेनु चन्दले राष्ट्रिय निकुञ्जहरुको नीतिगत र व्यवहारिक सुधारमा सरकारले काम गर्नुपर्ने बताउनुभयो । उहाँले सबै निकुञ्जहरुका साझा र विशिष्ट खालका समस्याहरुबारे सरकारलाई सुझावको रुपमा दिनुपर्ने उहाँको धारणा थियो ।
अवलोकन भ्रमणका क्रममा देखिएका समसयाहरुको समधानकन लागि समितिले महत्वपूर्ण भुमिका खेल्नुपर्ने उहाँको भनाइ छ ।
बैठकमा राष्ट्रिय सभा सदस्य गोमादेवी तिमिल्सिनाले तिहारको रौनक र आवश्यक समन्वयन गर्न नसकिएको कारण प्रभावकारी रुपमा छलफल बहस गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । अवलोकन भ्रमण गरिएका निकुञ्जहरुमध्ये चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफल बढि भएका कारण धेरै कुरा बुझ्न नसकेको बताउनुभयो ।
हिमाली भेगहरुमा मौसमको कारणले अवलोकन गर्न समस्या भएको उल्लेख गर्दै उहाँले यसबारे विस्तृत छलफल गरेर मात्र प्रतिवेदन बनाउनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्