Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


संसदीय सुनुवाई समितिमा सेना र सुरक्षासँग जोडिएको गम्भीर प्रकृतिका उजुरी

उजुरीलाई आवश्यक कारबाहीका लागि सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय

0
Shares

काठमाडाैं। संसदीय सुनुवाई समितिमा सेना र सुरक्षासँग जोडिएको गम्भीर प्रकृतिको उजुरी परेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको संसदीय सुनुवाई समितिको बैठकले सुरक्षासँग सम्बन्धित उक्त उजुरीलाई आवश्यक कारबाहीका लागि सचिवालयमार्फत सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको हो । बैठकपछि निर्णयहरू सार्वजनिक गर्दै समिति सभापति बाेधनारायण श्रेष्ठले सेना र सुरक्षासँग जोडिएको गम्भीर प्रकृतिको उजुरी प्राप्त भएको जानकारी दिनुभयो । उक्त विषय रक्षा वा गृह कुन मन्त्रालयसँग बढी सम्बन्धित छ भन्ने विषयमा विस्तृत अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउन समितिको सचिवालयलाई जिम्मेवारी दिइएको छ ।

सभापति श्रेष्ठले समितिमा प्राप्त उजुरी र त्यसको सुनुवाई प्रक्रियाका क्रममा उठेका प्रश्नहरूबारे पनि बैठकमा छलफल भएको बताउनुभयाे। प्रश्तावित व्यक्तिको सुनुवाईका क्रममा माग गरिएका सूचनाहरूका सम्बन्धमा समितिले स्पष्ट पारेको छ । सुनुवाई प्रक्रिया प्रत्यक्ष प्रशारण र रेकर्ड हुने भएकाले सम्बन्धित व्यक्तिले रेकर्डबाटै आवश्यक जानकारी लिनसक्ने समितिको निष्कर्ष छ ।

त्यस्तै, समिति सदस्यहरूले गर्ने व्यक्तिगत अध्ययनको विषय नितान्त निजी हुने भएकाले त्यसको जानकारी सार्वजनिक गरिरहनु नपर्ने र सूचनाको हकसम्बन्धी विषयमा प्रचलित कानून बमोजिम नै प्रक्रिया अघि बढ्ने सभापति श्रेष्ठले बताउनुभयो। बैठकले यहि भदाै १८ र १९ गते समितिका सदस्यहरूका लागि आयोजना गरिने अभिमुखीकरण कार्यक्रमको स्थान र विषयवस्तु तय गर्ने जिम्मेवारी समेत सचिवालयलाई सुम्पिएको छ ।