काठमाडौं । सरकारले डिजिटल सवारीचालक अनुमति पत्रको नियमनको लागि ट्राफिक प्रहरीलाई स्मार्टफोन हस्तान्तरण गरेको छ ।
शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री देवेन्द्र दाहालले १०४ वटा मोबाइल फोन प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवँरलाई हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले सबै प्रदेशहरुले सवारी चालक अनुमति पत्र छापेर दिने काम सुरु भइसकेको बताउनुभयो । उहाँले देश संघीयतामा गएको उल्लेख गर्दै डिजिटलाइजेशन गर्ने क्रममा पछि पर्न नहुने बताउनुभयो । उहाँले सवारी चालक अनुमति पत्रलाई राष्ट्रिय परिचय र नागरिक एपसँग जोडिएको बताउनुभयो । उहाँले लाइसेन्स लिन लामवद्ध हुनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवँरले बढ्दो जनघनत्व र शहरीकरणको अनुपातमा पर्याप्त पूर्वाधार निर्माणका अभाव र यातायातको साधनको तिब्र वृद्धि नै सडक दुर्घटनाको कारक तत्व रहेको बताउनुभयो । उहाँले आर्थिक वर्ष २०८०/०८१ सम्म काठमाडौं उपत्यकामा १८ लाख भन्दा धेरै सवारीसाधन दर्ता भएको बताउनुभयो । उहाँले उपत्यकामा हाल १८ सय ३६ जना ट्राफिक प्रहरी परिचालित रहेको बताउनुभयो ।
मानवीय र यान्त्रिक दुवै श्रोत साधनको उपलब्धताको अभाव, लामो ड्युुटी समय, स्वास्थ्यको जोखिम राखेर सडक व्यवस्थापन र यात्रु सुरक्षातर्फ केन्द्रित रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्