२७ मंसिर २०८१, बिहिबार | Fri Dec 13 2024


अहिले नै संविधान संशोधन हुँदैन, दुई वर्ष कुर्नुपर्छ : नेता कोइराला


949
Shares

काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले तत्काल संविधान संशोधन हुन नसक्ने बताउनुभएको छ ।

आइतवार काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेता कोइरालाले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गरेर निर्वाचन प्रणाली फेर्नुपर्ने भएपनि अहिले नै संशोधन गर्न नसकिने बताउनुभएको हो ।

नेता कोइरालाले अहिले नै संविधान संशोधन गर्न नसकिने स्पष्ट पार्नुभयो । उहाँले संविधान संशोधन गर्नका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको दुई तिहाइ बहुमत चाहिने भएपनि सरकारको बहुमत नपुग्ने बताउनुभयो । उहाँले दुवै सदनमा बहुमत पु¥याउनका लागि दुई वर्ष कुर्नुपर्ने बताउनुभयो ।

नेता कोइरालाले संविधान संशोधन गर्दा नेकपा(माओवादी केन्द्र) लगायतका राजनीतिक दलहरुलाई पनि साथमा लिएर जानुपर्ने बताउनुभयो । उहाँले अहिलेको लडाइँ प्रतिनिधित्व, पहिचान र पहुँचको लडाइँ भएको उल्लेख गर्दै संविधान संशोधनमा यो कुरालाई पनि विचार पु¥याउनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रतिनिधि सभामा सबैलाई समेट्ने र राजनीतिक दलको बहुमत पनि आउनेगरी संविधान संशोधन गरिने बताउनुभयो ।

नेता कोइरालाले भन्नुभयो– ‘संविधान अहिले नै संशोधन हुन्छ भन्ने कुरापनि दिमागबाट हटाइदिनुस् । त्यो हुन सक्दैन भन्ने कुरा पनि हामीले बुझौँ । किन हुन सक्दैन भने प्रतिनिधि सभा र राष्ट्रिय सभा मिलाएर दुई तिहाई बहुमत चाहिन्छ । राष्ट्रिय सभामा यो सरकारको बहुमत पुग्दैन । दुई वर्ष कुर्नैपर्ने हुन्छ । संशोधन गर्दाखेरी संविधानलाई सुधार गर्ने क्रममा माओवादी लगायत अन्य राजनीतिक दलहरुलाई पनि हामीहरुले साथ लिएर जानुपर्छ । किनभने संविधान भन्नेकुरा नेपाली जनताको हो । कुनै राजनीतिक दलको संविधान हुँदैन भन्ने कुरा हामीले बुझौँ । नेपाली जनताको संविधानलाई सबै राजनीतिक दलहरुले स्वीकार गरेको हिसाबले हामी जानुपर्ने हुन्छ ।’

नेता कोइरालाले राजनीतिक स्थायित्व, आर्थिक विकास र सुशासनका लागि नेपाली काँग्रेस र नेकपा(एमाले) एक ठाउँमा उभिएका बताउनुभयो । उहाँले नेपाली काँग्रेसका मन्त्रीहरुलाई पदबाट बाहिरिँदा निष्कलङ्क भएर निस्किन आग्रह गरेको पनि बताउनुभयो ।