२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024


सरकारलाई असफल हुने छुट छैन : शेखर कोईराला


338
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले संविधान संशोधनको विपक्षमा रहेका राजनीतिक दलहरुले राम्रोसँग संविधानको अध्ययन नगरेको बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोईरालाले यस्तो बताउनुभएको हो ।

नेता कोईरालाले संविधानमै हरेक १० वर्षमा संविधान संशोधन गर्नुपर्ने उल्लेख गरेको भन्दै कमी कमजोरीलाई सच्याउन आवश्यक रहेको बताउनुभयो । उहाँले संविधान के—के कुरामा सुधार गर्ने भन्नेबारेमा भने छलफल गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारको प्राथमिकतामा संविधान संशोधन, सुशासन र भ्रष्टाचार नियन्त्रण परेको भन्दै खुशी प्रकट गर्नुभयो । उहाँले राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा संविधान संशोधन गर्न जरुरी रहेको बताउनुभयो ।

नेता कोईरालाले कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरुले खादा, माला र स्वागतमै समय बिताइरहेको बताउनुभयो । आफूले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई काममा ध्यान दिन आग्रह गरेको पनि बताउनुभयो । सरकारलाई कुनै गल्ती गरेर असफल हुने छुट नरहेको बताउनुभयो ।

नेता कोईरालाले सरकारले जनतामा रहेको निराशालाई आशामा परिणत गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले राष्ट्रलाई प्राथमिकतमा राखेर जनतामा आशा जगाउँदै आर्थिक विकासमा फड्को मार्नुपर्ने बताउनुभयो ।

राजनीतिक स्थायित्वका लागि संविधान संशोधन हुनुपर्ने, निर्वाचन प्रणालीमा संशोधन गर्नुपर्ने, समावेशीलाई कुनै आघात नपुग्ने गरी अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले संविधान संशोधन गर्दा संसदभित्रका सबै राजनीतिक दलसँग सहमति गरेर नै अघि बढ्नुपर्ने बतउनुभयो । दुई तिहाई बहुमतको दम्भ गरेर संविधान संशोधन गर्न नहुने बताउनुभयो । सांसद कोईरालाले संविधानमा भएका कमी, कमजोरीलाई सुधार गरेर लैजान नेपाली काँग्रेसले भुमिका खेल्ने बताउनुभयो ।