Logo २० कार्तिक २०८३, शुक्रबार | Fri, Nov 6, 2026


सरकारलाई सचेत बनाउनु मेरो जिम्मेवारी हो, पार्टीभित्रको बेथिति र अराजकता सहन्नः रवि लामिछाने


0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी सरकार सञ्चालनमा वाधक नबन्ने तर देशमा विधिको शासन स्थापना गर्न र बेथिति अन्त्य गर्न निरन्तर सचेत रहने बताउनुभएको छ ।

चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले पार्टी संगठन र सरकारबीच कुनै द्वन्द्व नभएको स्पष्ट पार्दै कार्यकर्ताहरूलाई मर्यादा र सुसंस्कृत राजनीतिक संस्कार अपनाउन निर्देशन दिनुभयो । सभापति लामिछानेले पार्टी र सरकार दुवैले नागरिकको सेवालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले न्यायालय र प्रहरी जस्ता राज्यका अंगहरूमाथि चोक–चोकमा बसेर गरिने अप्रमाणिक टिप्पणीले ती संस्थाको मनोबल गिर्ने भन्दै सचेत रहन आग्रह गर्नुभयो । पार्टीभित्र बढ्दो ‘रिसोर्सेज’ वा धनशक्तिको प्रभावप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

कार्यकर्ताहरूलाई एकै व्यक्ति वा समूहको स्वार्थमा चल्ने कार्यशैलीले पार्टी कब्जा हुने खतरा रहेको भन्दै उहाँले त्यस्तो प्रवृत्तिप्रति सजग रहन आग्रह गर्नुभयो । सामाजिक सञ्जालमा फरक विचार राख्नेहरूप्रति प्रयोग गरिने अश्लील र अमर्यादित भाषाको उहाँले निन्दा गर्नुभयो ।

सभापति लामिछानेले भन्नुभयो, ‘हामीले चुनावमा भ्रष्टाचार र बेथितिको अन्त्य गर्ने प्रतिबद्धता जनाएका हौँ । तर यसको अर्थ जोसुकैलाई मनलाग्दी रूपमा पक्राउ गर्ने होइन । हामी विधिको शासन, कानूनी राज्य र निष्पक्ष अनुसन्धानमार्फत सुशासन कायम गर्न आएका हौँ । जनतामा आशा र भ्रष्टाचारीमा त्रास सिर्जना हुनुपर्छ, तर नागरिकमा त्रास फैलिनु हुँदैन । सरकारलाई नागरिकको सेवामा स्वतन्त्र र निर्वाध रूपमा काम गर्न दिनु पार्टीको जिम्मेवारी हो। न्यायालय, प्रहरी र प्रशासनजस्ता संस्थाको मनोबल कमजोर पार्ने अभिव्यक्ति दिनु हुँदैन । ती संस्थाभित्रका बेथिति विधिसम्मत ढङ्गले अन्त्य गर्नुपर्छ । सरकारका निर्णयप्रति प्रश्न उठाउन सकिन्छ, तर त्यसलाई अनावश्यक विवाद, षड्यन्त्र वा पार्टीभित्रको द्वन्द्वका रूपमा प्रश्तुत गर्नु उचित हुँदैन । लोकतन्त्रका मूल्य, मान्यता र संस्थागत मर्यादा कमजोर पार्नु हुँदैन । राजनीतिमा स्रोतसाधन आवश्यक हुन्छन्, तर स्रोतसाधन भएका व्यक्तिको कब्जामा पार्टी जानु हुँदैन । पार्टी विचार, सिद्धान्त र विधिबाट चल्नुपर्छ, आर्थिक शक्तिको प्रभावबाट होइन । फरक विचार राख्ने व्यक्तिको लोकतान्त्रिक अधिकार र सामाजिक प्रतिष्ठाको सम्मान गर्नुपर्छ। आलोचनाको जवाफ सभ्य र मर्यादित भाषामा दिनुपर्छ । अश्लीलता, अपमान र गालीगलौजले व्यक्ति मात्र होइन, सिङ्गो पार्टी र लाखौँ मतदाताको प्रतिष्ठामा आँच पुर्‍याउँछ । हामीलाई जनताले दिएको जनमत इतिहास बदल्ने अवसर हो। यसलाई जिम्मेवारीपूर्वक सदुपयोग गर्नुपर्छ। पार्टी लोकतन्त्रका सीमारेखा नाघ्ने छैन । कुनै निर्णयमा विचलन आए त्यसलाई सच्याएर सही बाटोमा अघि बढ्नेछ । म आफूले बोलेका कुराप्रति जिम्मेवार छु, तर कसैले त्यसलाई कसरी बुझ्छ वा व्याख्या गर्छ, त्यसको जिम्मेवार म होइन । चितवनबाट शुरु भएको नीलो क्रान्तिले देशभर परिवर्तनको सन्देश फैलाउने विश्वास लिएको छु ।’

उहाँले आफ्नो अभिव्यक्तिलाई बंग्याएर मिडिया वा विपक्षीले विभिन्न अर्थ निकाल्न सक्ने भएपनि आफू लोकतान्त्रिक विधि र पार्टीको मूल्य–मान्यताप्रति पूर्ण प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले रास्वपाले छिट्टै देशव्यापी रूपमा ‘निलो क्रान्ति’ फैलाउने दाबी गर्दै कार्यकर्ताहरूलाई अनुशासित भएर मिसनमा लाग्न आह्वान गर्नुभयो ।

Skip This