१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


नयाँ सरकारलाई सांसदहरुको सुझावः बाढी, पहिरो र डुबान पीडितको उचित व्यवस्था गरियोस्


403
Shares

काठमाडौं । प्रतिनिधि सभाका सांसदहरुले बाढी, पहिरो र डुबान पीडितलाई तत्काल राहतको व्यवस्था मिलाउन नयाँ सरकारलाई सुझाव दिएका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उनीहरुले बाढी, पहिरो र डुबान पीडितलाई राहत, उद्धार र पुनर्वासको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद पूर्णबहादुर घर्ती मगरले बाढी लगायतका विपद्मा परेकाहरुको यथाशिघ्र राहत, उपचार र पुनर्वासको व्यवस्था गर्न आग्रह गर्नुभयो । उहाँले संघीयता, समावेशिता जस्ता विषयलाई तोडमोड गर्ने काम नगर्न पनि सरकारलाई सचेत गराउनुभयो ।

सांसद घर्तीले भन्नुभयो, सामाजिक न्याय, सुशासन र समृद्धि, समानुपातिक, समावेशी, धर्म निरपेक्षता र संघीय शासन प्रणालीको संवैधानिक व्यवस्थालाई कतै पनि तोडमोड नगरेर व्यवस्थित बनाओस् । बाढी, पहिरोबाट हताहत भएका व्यक्ति र परिवारलाई यथाशिघ्र राहत, उपचार र सम्भावित प्रकोप रोक्न सरकारले पहल गरोस् ।

यता सत्तारुढ नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बढूले पनि प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर विपद्मा परेका नागरिकको उचित व्यवस्था गर्ने काम ध्यान दिन सरकारलाई सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, यस वर्षको मनसुनले प्रारम्भिक चरणमा नै कीर्तिमान स्थापित गरेको छ । सयौं नागरिकहरुले ज्यान गुमाएका छन् । र, हजारौ बिस्थापित भएर बस्नु परिरहेको अवस्था छ । त्यसकारण यो पीडादायक अवस्थामा, यो दुखद अवस्थामा यो वर्तमान सरकारले प्राथमिकताका साथ सबैभन्दा पहिले प्रदेश र स्थानीय सरकारसँग समेत समन्वय गरेर उद्धार, राहत र पुनस्र्थापना जुटोस् भन्ने पनि म आग्रह गर्न चाहन्छु ।

एमालेका सांसद ठाकुरप्रसाद गैरेले देश र जनताको हितमा पक्षमा काम गर्न सरकारलाई सुझाव दिनुभयो । उहाँले बाढी, पहिरो लगायतका मुलुकमा समस्या खडा गरिरहेको उल्लेख गर्दै त्यसको समाधानका प्रक्रियालाई तिब्रता दिन पनि सरकारलाई सचेत गराउनु भयो ।

सांसद गैरेले वर्तमान सरकारले पीडित जनतामा आशाको सञ्चार तत्काल गराउने विश्वास समेत व्यक्त गर्नुभयो ।