१६ फाल्गुन २०८०, बुधबार | Wed Feb 28 2024


सुदूरपश्चिम प्रदेशमा माओवादी विवाद उत्कर्षमा


403
Shares

कैलाली (बिराज रोस्यारा) । सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रको विवाद झन बढ्दै गएको छ । बहुमत सांसदले संसदीय दलका नेता खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाएपछि शुरु भएको विवाद उत्ष्कर्षतिर पुगेको हो । माओवादीको केन्द्रीय नेतृत्वले भने संसदीय दलको नेता फेर्ने निर्णय सच्याउन निर्देशन दिएको छ । तर प्रदेश कमिटीले केन्द्रको निर्देशनको अवज्ञा गरेको छ ।

नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशले संसदीय दलको नेताबाट खगराज भट्टलाई हटाएर मान बहादुर धामीलाई चयन गर्ने निर्णय सच्याउन निर्देशन दिएको छ । धनगढीमा बसेको पार्टी पदाधिकारीको बैठकले पार्टीको विधिविपरित र केन्द्रीय कार्यालयको निर्देशनसमेत अवज्ञा गरेर दलको नेता हटाएको भन्दै तत्काल सच्याउन निर्देशन दिएको हो । प्रदेश अध्यक्ष हरिराम चौधरी र सचिव जनकबहादुर बुढाले हस्ताक्षर गरेर जारी गरिएको परिपत्रमा संसदीय दलका नेता भट्टको जानकारी बिना उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले दलको नेता परिवर्तन गरेको र सरकार परिवर्तन गर्ने भन्ने कुरामा गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । प्रदेश सचिव जनक बहादुर बुढालले खगराज भट्टलाई तत्काल दलको नेताबाट हटाउनु पर्ने अवस्था नआएको बताउनु भयो ।

संसदीय दलका उपनेता अक्कलबहादुर रावल पार्टीका प्रदेश उपाध्यक्ष पनि हुनुहुन्छ । उहाँकै अध्यक्षतामा बसेको बहुमत सांसदको बैठकले भट्टलाई दलको नेताबाट हटाएर मानबहादुर धामीलाई चयन गरेको थियो । खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाउँदा ६ जना प्रदेशसभा सदस्यहरूले निर्णय गरेका थिए । निर्णय गर्ने प्रदेश सभासदस्यहरुले प्रदेश कमिटीले दिएको निर्देशनलाई सुझावका रुपमा मात्रै लिन सकिने बताएका छन् । केन्द्र र प्रदेशको निर्देशनलाई सुझावका रुपमा लिँदै पुरानो निर्णयमा भने फर्किन नसकिने उनीहरको अडान छ ।

बहुमत प्रदेश सभा सदस्यबाट निर्वाचित दलका नेता धामीले आफु दलको नेता हुने कुरा केन्द्रलाई एक महिना अघि नै जानकारी गराइसकेको हुँदा यो निर्णयमा कुनै फेरबदल नहुने दाबी गर्नुभयो । उहाँले संसदीय दलको नियम, संसदीय मर्यादा र निर्वाचन प्रणालीलाई अपनाएर आफु दलको नेता भएको दावी गर्नुभयो । नव निर्वाचित दलका नेता धामीले माओवादी पार्टीले संसदीय प्रणाली अबलम्बन गरेको वुझन आग्रह गदै आफ्नो टिम र माओवादीले लोकतान्त्रिक प्रक्रिया पुरा गरेको तर्क गर्नुभयो ।

यसअघि दलका नेता रहेका खगराज भट्टमाथि असन्तुष्ट रहेका माओवादीका प्रदेश सभा सदस्यहरु मन्त्रीहरुमाथि पनि असन्तुष्ट छन् । गत शुक्रबार धनगढीमा बसेको संसदीय दलको बैठकको बहुमतबाट सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेताबाट भट्टलाई हटाउने निर्णय गरेको थियो । सुदूरपश्चिम प्रदेशमा माओवादीबाट अहिले २ मन्त्री र १ राज्यमन्त्रीसहित गठबन्धन सरकार छ । अब गठबन्धनमा पार्टीको हैसियत अनुसारको मन्त्रालय माग्नेपनि उनीहरुको तयारी छ । बहुमत सांसदले आर्थिक मामिला मन्त्रालय माओवादीका भागमा पर्नुपर्ने अडान लिएका छन् ।