२९ आश्विन २०८१, मंगलबार | Tue Oct 15 2024


नेपालको ‘अग्निपरीक्षा’


0
Shares

काठमाडौं, भदौ २२ । साफ च्याम्पियनसिपअन्तर्गत् शनिबार अपराह्न बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा हुने समूह चरणको अन्तिम खेल जित्नसके नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ ।

समूह चरणको पहिलो खेल गुमाएपनि दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गरेको नेपालका लागि शनिबारको खेल अग्निपरीक्षा बराबर हो ।

जारी प्रतियोगितामा बंगलादेशले ३ गोल गरेको छ भने एक गोल पनि खाएको छैन । नेपालले भने ५ गोल गर्दा २ गोल खाएको छ । यसरी हेर्दा बंगलादेशविरुद्ध गोल गर्न निकै कठिन देखिन्छ ।

शुक्रबार बिहान ढाकामा सन्चारकर्मीसँग कुरा गर्दै नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जनले शनिबार हुने बंगलादेशविरुद्धको खेल नेपालले जित्नैपर्ने बताएका छन् ।

कप्तान महर्जनले साफ च्याम्पियनसिपअन्तर्गत् समूह चरणको तेस्रो खेल खेलाडीका लागिमात्र नभएर सम्पूर्ण नेपालीका लागि महत्वपूर्ण रहेको बताएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

बिहीबार भएको समूह ‘ए’को दोस्रो चरणको खेलमा नेपालले भुटानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो ।

समूहकै अर्को खेलमा आयोजक बंगलादेशले पाकिस्तानलाई १–० ले पराजित गरेपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना नेपालकै खेलमा निर्भर रहनेछ ।

दोस्रो चरणको खेल सकिँदा अंकतालिकामा बंगलादेश दुई खेलमा ६ अंक बटुल्दै शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा पाकिस्तान दुई खेलबाट ३ अंक लिएर बसेको छ । नेपालले दुई खेलमध्ये एकमा हार र एकमा जित निकाल्दै ३ अंकसाथ समूहको तेस्रो स्थानमा छ ।

समूहको पुछारमा रहेको भुटानले दुई खेलमा कुनै अंक जोडेको छैन । भुटान समूह चरणबाटै बाहिरिसकेको छ ।

नेपाललाई सेमिफाइनलमा पुग्न पहिलो विकल्प बंगलादेशविरुद्ध स्पस्ट जित हासिल गर्नुपर्नेछ ।

शनिबार पहिलो खेलमा पाकिस्तान र भुटानबीचको विजेताले पनि नेपालको अघिल्लो चरणको यात्रा तय गर्नेछ ।

भुटान र पाकिस्तानको खेल बराबरी अथवा भुटानले जितेको अवस्थामा नेपालले बंगलादेशविरुद्ध बराबरी खेलेमात्र पनि समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्नेछ । यदि, पाकिस्तानले जिते नेपालले बंगलादेशविरुद्ध जित निकाल्नैपर्ने हुन्छ ।

यदि, शनिबार हुने पहिलो खेलमा पाकिस्तानले भुटानलाई पराजित गर्‍यो र नेपाल बंगदेशसँग हार्‍यो भने पाकिस्तान र बंगलादेश सेमिफाइनल पुग्नेछन् । नेपाल समूह चरणबाटै घर फर्कनुपर्नेछ ।

समग्रमा बंगलादेशलाई बराबरी अथवा जितले अर्को चरणमा पुग्न सहज देखिन्छ । नेपालले पनि जित दर्ता गरे अर्को चरण पुग्ने पक्का छ ।

बंगलादेशले घरेलु मैदानमा भइरहेको प्रतियोगितामा लगातार दोस्रो जित निकालिसकेको छ । अब समूहको अन्तिम खेलमा नेपालसँग प्रतिस्पर्धा गर्नेछ । रासस